तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्नुहुने भएको छ। सङ्घीय संसद्को सांसद समेत रहनु भएका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्नुहुने भएको हो । उहाँले भन्नुभयो, “काँग्रेसका देशभरिका प्रतिनिधिहरूले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरूको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो भने भारतीय राष्ट्रिय काँग्रेसमा २५ वर्षपछि मात्रै गान्धी परिवारभन्दा बाहिरको व्यक्ति अध्यक्ष हुनेछ । यसअघि सन् १९९६ मा सिताराम केसरी गान्धी परिवारभन्दा बाहिरको नेता काँग्रेसको अध्यक्ष हुनुभएको थियो । उहाँले शरद पवार र राजेश पिलोटलाई पराजित गर्नु भएको थियो । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गर्नु भएको थियो ।  

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसुदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिनुभयो ।  भारतीय राष्ट्रिय काँग्रेसलाई लामो समयदेखि अन्तरिम अध्यक्षले सञ्चालन गर्दै आउनु भएको छ । गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिनु भएको थियो । 

उहाँको राजीनामा लामो समयसम्म अस्वीकृत गर्दै उहाँलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर जति आग्रह गर्दा पनि उहाँले नमानेपछि उहाँकै आम तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । 

अब हुने महाधिवेशनबाट पनि राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्ने पक्षमा उभिँदै आएका नेताहरूको सङ्ख्या धेरै छ । तर उहाँको बारेमा स्पष्ट निर्णय भइनसकेको बेला थारुरले उम्मेदवारी दिने तयारी गर्नु भएको हो । 

पार्टीभित्रको आन्तरिक विवाद र अन्यौलताका बीच लामो समयपछि भारतीय काँग्रेसले नयाँ नेतृत्व पाउने भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button