तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा दसैँको रौनक, राजदेवी मन्दिरलाई बेहुली झैँ श्रृङ्गारियो

जनकपुरधाम । जनकपुरधाममा दसैँको विशेष रौनकता छाएको छ ।  

जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरसहित अन्य शक्ति पीठहरूलाई  नयाँ बेहुली झैँ श्रृङ्गारिएको छ ।

दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रूपमा रहेको राजदेवी मन्दिरसहित बौधीमाई, अन्नपूर्णा, पियरिया माइस्थान लगायतका शक्ति पीठहरूलाई विशेष रूपमा सजाइएको छ । दसैँको पहिलो दिनदेखि सबै मन्दिरहरूमा पूजापाठ गर्नका लागि बिहानदेखि भिड लागेको छ ।

राजदेवी मन्दिर क्षेत्रको सरसजावटमा महावीर युवा कमिटीले विगत वर्ष झैँ यस वर्ष पनि लाखौँ रकम खर्च गरेको छ । राजदेवी मन्दिरमा विशेष पूजा तथा भाकल अनुसारको बोका बलिको व्यवस्थापन समितिले गर्दै आएको छ । राजा जनकको कूल देवताको रूपमा माता राजदेवीलाई मानिन्छ । 

यसैगरी, जनकपुरधामको रामानन्द चोक तथा विद्यापति चोकमा माटोको आकर्षक एवम् भव्य प्रतिमा बनाएर विधिवत् रूपमा घटस्थापना गरेर दशैँ पूजा सुरु भएको छ । 

उता श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको छ । भिडलाई ध्यानमा राखेर आवश्यकता अनुसार प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button