तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक यातायातलाई व्यवस्थित बनाई सडक दुर्घटना न्यूनीकरण गर्न समिति गठन

काठमाडौँ । सरकारले सार्वजनिक यातायातका साधनको यान्त्रिक परिक्षण, भारवाहक क्षमता र टाइम कार्डको पालना लगायतका विषयमा अनुगमन नियमन निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलेको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने निर्णय गरेको छ । 

सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाई सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले सो समिति गठन गरेको हो ।

असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गरेको, प्राइभेट फर्म रजिष्ट्रेशन चौथो संशोधन नियमावली २०७९ स्वीकृत गरेको जानकारी दिनुभयो ।

सरकारले दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । त्यस्तै, चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको पनि बताउनुभयो ।

यस्तै, मन्त्रीपरिषद् बैठकले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाह्रका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ । 

यसैगरी सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि सरकारले उहाँलाई मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो । 

मन्त्रिपरिषद् बैठकले वाणिज्य आपूर्ति तथा उपभोक्ता सुरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रमका लागि र विज्ञापन बोर्डको लागि कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

निर्णयहरू यस प्रकार छ ।

भिडियो पनि हेर्नुहोस् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button