तपाईँ सुन्दै हुनुहुन्छः

घुमफिर वर्ष सौराहाबाट शुरु गर्दै बागमती प्रदेश पर्यटन मन्त्रालय 

चितवन । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले घुमफिर वर्ष २०७९/८०  शुरु गर्ने भएको छ । प्रदेशका १३ वटै जिल्लाका पर्यटन गन्तव्यको प्रवर्द्धन गर्न घुमफिर वर्ष शुरु गर्न लागेको हो । यसका लागि यी सबै जिल्लाका पर्यटकीय क्षेत्रलाई सामाजिक, सांस्कृतिक, धार्मिक , पर्यापर्यटनको रुपमा विभाजन गरि प्रचार प्रसार गरिने मन्त्रालयले जनाएको छ । 

घुमफिर वर्षको चितवनको सौराहामा एक भव्य समारोहका बीच असोज ११ गते उद्घाटन गरिने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो  । घुमफिर वर्षको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ  ।

कोभिडका कारण  शिथिल भएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यसहित  ०७९/८० लाई घुमफिर वर्षको रुपमा मनाउन लागिएको संस्कृति तथा पर्यटन मन्त्रालयका संस्कृति पर्यापर्यटन तथा वातावरण शाखा प्रमुख उत्तम चापागाईँले जानकारी दिनुभयो  । 

उहाँका अनुसार यसका लागि मन्त्रालयले पर्यटन व्यवसायी, स्थानीय निकाय, हवाई उडान कम्पनी, शैक्षिक संस्था लगायतका सरोकारवाला संस्थासँग समन्वय र सहकार्य गरिएको छ । ‘वाग्मती प्रदेशको मुख्य पर्यटन क्षेत्र सौराहा हो, उहाँले भन्नुभयो, घुमफिर वर्षको अभियान पनि यहीँबाट शुरु गर्न लागेका हौँ तर सबै जिल्लाको पर्यटकीय क्षेत्रको हामीले प्रवर्द्धन गर्दैछौं ।’ यसका लागि वर्षभरिमा झण्डै ४० वटा कार्यक्रम राखिएको उहाँको भनाई छ । 

यसका लागि मन्त्रालयबाट १ करोड बजेट निकासा भएको र अन्य खर्चको लागि पर्यटन व्यवसायीसँग समन्वय गरिने चापागाईँले बताउनुभयो  । विगत केही वर्षदेखि पर्यटन प्रवर्द्धन र आकर्षणका लागि कुनै पनि गतिविधि नगरेकाले यसवर्ष घुमफिर वर्षको रुपमा मनाउन लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि छुट प्याकेज , नयाँ गन्तव्यको पहिचान, ट्राभल प्याकेज साथै थप नयाँ पर्यटकीय गतिविधि गरिने उहाँले बताउनु भयो । 

घुमफिर वर्षको सुरुवातसँगै पर्यटन प्रवर्द्धनका लागि सौराहामा सूचना एवं सम्पर्क कार्यालय स्थापनाको कार्यालय राखिने समेत उहाँले बताउनुभयो  । यसले बागमती प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

गत भाद्र १६ गते बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले २०७९/८० लाई घुमफिर वर्षको रुपमा मनाउने निर्णय गरेसँगै घुमफिर वर्षको सार्वजनिक गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button