तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गन्तव्य गिडिदह : ‘आर्थिक समृद्धि र बेरोजगारी अन्त्यको अस्त्र’

जुम्ला । जुम्ला प्राकृतिक, धार्मिक तथा ऐतिहासिक पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँ दर्जनौँ दह ताल तलैया, पाटन र धार्मिक क्षेत्रहरू छन् । जसको उचित प्रवर्द्धन, प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा सम्भावनाहरू अवसरमा रूपान्तरण हुन सकेको छैन । 

सङ्घीयतापछि तीनै तहका सरकारको नजरमा पर्न नसकेको, पत्रकारको क्यामरामा कैद नभएका, जनप्रतिनिधिका नीतिमा नसमेटिएका, र अध्ययन अनुसन्धान समेत हुन नसकी गुमनाम रहेको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह (ताल) हो । जसले प्रचुर पर्यटकीय सम्भावना बोकेको छ । तर अहिलेसम्म उक्त (गिडिदह¬¬)को प्रचारप्रसार मात्र नभई प्रवर्द्धनको ठोस नीतिसम्म बन्न सकेको छैन । 

कर्णालीमा रहेका दर्जनौँ प्राकृतिक तालहरू मध्येको तातोपानी गाउँपालिका–४ जुम्लामा अवस्थित गिडीदह एक महत्त्वपूर्ण ताल हो । समुद्री सतहदेखि ३४८२ मिटर उचाइमा अवस्थित गिडिदहको अहिलेसम्म लम्बाई चौडाइ र गहिराइ नापिएको छैन । 

जुन डेढ दशक पहिलासम्म गिडिदहमा महिला जानु हुन्न, त्यहाँ गएका मान्छे फर्किएर आउँदैनन् भन्ने भ्रम फैलाइएको थियो । जसका कारण अहिलेसम्म त्यहाँ एक जना पनि पर्यटक पुगेनन् । भने प्रचारप्रसार पनि हुन सकेन । त्यहाँ एउटा सानो र एउटा ठुलो गरी दुई वटा ताल रहेका छन् । जुन जुम्लाकै ठुला ताल हुन् ।

आर्थिक समृद्धि र रोजगारी सृजनाका नारा तीनै तहका सरकारले लगाइरहे । गिडिदह जस्ता सम्भावनाहरूले लगानी र पूर्वाधार विकास कुरिरहे । तर हाम्रा नीति कार्यक्रम कागजी घोडा जस्तो र बजेट सधैँ अनुत्पादन क्षेत्रमा लगानी हुने प्रवृत्ति हाबी भयो । जसका कारण जुम्लाका प्रचुर पर्यटकीय सम्भावनाहरूबाट अवसर लिन सकेनौ । 

हिमाली भेगमा पाइने कोणधारी जङ्गलले ढाकिएको उक्त तालले दिनमा सात रङ्ग फेर्ने गरेको छ । त्यहाँ जाँदा भूत लाग्ने भ्रमले समेत अहिले सम्म कसैले पुग्ने आँट गर्न सकेनन् । जसका कारण गिडिदह ओझेल पर्‍यो । तर नयाँ जनप्रतिनिधिहरू गिडिदहको संरक्षण प्रवर्द्धनमा जुरमुराएका छन् । 

पहिलो गिडिदह सम्मेलन
गुमनाम गिडिदह(ताल)को प्रचार प्रसारका लागि तातोपानी गाउँपालिका वडा नंं ४ को आयोजनामा पहिलो गिडिदह सम्मेलन सम्पन्न भएको छ । १४ बुँदे घोषणा पत्र जारी गर्दै गिडिदह सम्मेलन सकियो । गिडिदहको प्रचारप्रसार गर्न, जाने रुट पत्ता लगाउन, क्षेत्रफल नाप्न पहिलो पटक झण्डै एक सय जना बढी जनप्रतिनिधि, कर्मचारी र पत्रकारको टोली असोज ५ गते गिडिदह पुग्यो । दुई दिनको कठिन यात्रापछि असोज ६ गते गिडिदह छेउमै सम्मेलन भयो ।

गिडिदहलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न, प्रचारप्रसारमा जोड दिनुपर्ने, छोटो फूलचौँल्या पाटनदेखि गिडिदह सम्मको छोटो पदमार्ग निर्माण, दह वरिपरि घोरेटो बाटो निर्माण, दहको क्षेत्रलाई संरक्षण क्षेत्रका रुपमा विकास गर्नुपर्ने, बाह्य आन्तरिक लगानी जुटाई पूर्वाधार विकास गरी पर्यटक भित्राउनु पर्ने कुरालाई सम्मेलनले १४ बुँदे घोषणापत्र जारी गरी औँल्याइएको छ । 

१४ बुँदे घोषणापत्र जारी गर्दै तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले पाँच भित्र गिडिदहमा पर्यटक भित्र्याउने वातावरण सृजना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “साविक कर्णालीको रारा र से–फोक्सुन्डो पछिको ठुलो गिडिदह(ताल) लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने छ । भने चाडै तालको लम्बाई चौडाइ र गहिराई नाप्न पहल थालिने छ । पहिलो पटक गिडिदहमा पुग्दा आर्थिक समृद्धि, नमुना पालिका निर्माण र रोजगारी सृजनाका हिसाबले गिडिदह कोशेढुंगा बन्ने सम्भावना देखियो । अब लगानी बढाउनु पर्छ ।” 

गिडिदह लगायतका दह र पाटनहरूको विकासका लागि डिपिआर तयार गरिने भएको छ । सामाजिक भ्रम र सोचेको भन्दा पनि फरक र पर्यटकीय गन्तव्य बन्ने सम्भावना भएकोले गिडिदहलाई पर्यटकीय हब बनाउन संघ प्रदेशसँग लगानी जुटाउन पहल गर्नुका साथै आगामी आगामी पाँच वर्षमा स्थानीय तहको बजेटमा विशेष जोड दिइने समेत अध्यक्ष चौलागाईको भनाई छ । 

पर्यटक आकर्षणका लागि न पूर्वाधार छ नत त्यहाँ पुग्ने सहज गोरेटोबाटो । जङ्गलको झार पन्छाउँदै नयाँ रुट पत्ता लगाउँदै पहिलो पटक सरकारी टोली गिडिदह पुगेको हो । गिडितालको संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउन सकिने पर्याप्त सम्भावना रहेको तातोपानीका उपाध्यक्ष सीमा रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“घना जङ्गलको बिचमा रहेको यो ताल सामाजिक भ्रम र सरकारी नीतिको अभावले ओझेलमा परेकाले संरक्षणको लागी ४ नम्बर वडाबाट गरिएको पहल स्वागत योग्य छ ।”

प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले पालिकाको अर्थतन्त्र उकास्ने र सयौँ नागरिकलाई रोजगारी दिने सम्भावना गिडिदहमा देखिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार गिडिखोला देखि फूलचौँल्या सम्म सडक निर्माण,ठाउँ ठाउँमा धर्मशाला निर्माण र छोटो पदमार्ग निर्माण गर्न जरुरी रहेको छ । भने, तत्काल पूर्वाधार निर्माणका लागि डिपिआर तथा वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाइने भएको छ । 

लेखक तथा साहित्यकार खडानन्द चौलागाईले नेपालका भू–गर्भविद् डा.हर्क गुरुङ जुम्लाका सबै क्षेत्रको भ्रमण अवलोकन गरेपनि गिडिदहको अध्ययन अनुसन्धान गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक विकटता र भ्रमले डा. गुरुङ गिडिदह पुग्न सकेनन् । डा. गुरुङको मैले देखेको नेपाल नामक पुस्तकमा जुम्लाका सबै विषयमा लेखिएको छ । तर गिडिदह गुमनाम छ । पालिकाले पहिलो पटक गिडिदहको पहिचान र प्रचारका लागि गरेको काम सराहनीय छ ।”

साथै लेखक चौलागाईले गिडिदहलाई आफ्नो सृजना मार्फत यसरी व्यक्त गर्नु भएको छ :

गिडिदहलाई क्षितिजबाट नियाल्दा 

हिमगिरीशिलाको स्रोतबाट पानीको घुम्टो ओडेकी ।
२२ पाटनको छेउमा यो रूप कसरी छोडेकी ।।
महिमा कति गरूँ जुम्लाकै ठुली छौ हे सुन्दरी ।
तिमी नै भेटायौँ हामीले धर्तीको अप्सरा सरी ।।
पानीमय उपत्यकाझैँ जङ्गलमा कसरी रहेकी ।
दुई तालमा एउटाको कुनाबाट गिडीनदी भै बहेकी ।।
गिडिदह तिमी सेतो डलरको रुपमा नाम चलेकी ।
आकाशको परी जस्तै तिमी धपक्कै बलेकी ।।
ऐरीजाल गैरीगुमको फेदमा विराजमान गरी ।
मृगनयनी ती गजराज राज्य गरे सरी ।।
असोज ६ मा मन्त्रमुग्ध भयौँ सपना बिपना सरी ।
देख्यौ अनि मोहित पनि बनायौ स्वर्गकी हौ परी ।।
भीरैभिरको जङ्गल छैनन् त्यहाँ कुनै चरी ।
थाक्दै नथाक्ने नयनहरू सधैँ हेरूँ हेरूँ गरी ।।
दुई तालको रूप छ जहाँ टल्कने चन्द्रमा सरी ।
पाटनको छेउमा रह्यौ कसरी हे रूपकी परी ।।
रह्यौ कसरी हामीमा स्वर्ग नै खसेझैँ गरी ।
एक नजरमै लोभियौँ यस लोककी हौ परी ।।

गिडिदह पुग्न चार दिनको यात्रा
पहिलो पटक गिडिदह पुगेको सरकारी टोलीले गिडिदह लगायत विभिन्न पाटनको अवलोकन गर्न चार दिन लगाएर फर्किएको छ । पहिलो दिन असोज ४ गते तातोपानी ४ हाँकुबाट गएको टोली साँझ फूलचौँल्या पाटन पुग्यो । दोस्रो दिन असोज ५ गते बिहानै हिँडेर नयाँ रुट पत्ता लगाउँदै लामाचौर पाटन,सानी पाटन हुँदै जङ्गल छिचोल्दै गिडिदह पुगियो । 

तेस्रो दिन असोज ६ गत गिडिदह सम्मेलन गरी ११ बजे हिँडी पुनः साँझ फूलचौँल्या पाटनमा बास भयो । भने,चौथो दिन आफ्नो गन्तव्यमा फर्किर्यौ । यसरी हेर्दा पर्यटकीय गन्तव्य गिडिदह पुग्न चार दिन लाग्ने देखिन्छ । 

यद्यपि सडक विस्तार भएको खण्डमा तीन दिन लाग्ने देखिन्छ । भने, तत्काल गिडिखोला गाउँदेखि फूलचौँल्यासम्म सडक र फूलचौँल्यादेखि गिडिदह सम्म छोटो नयाँ पदमार्ग निर्माण गरेमा गिडिदह भ्रमण अवलोकन गर्न सहज रुपमा चार दिन लाग्छ । हाल बस्ने बासको उचित व्यवस्था र सहज बाटो समेत छैन ।

फूलचौँल्या, कालिका मन्दिर, लामाचौर पाटन, सानी पाटन जस्ता क्षेत्रमा बासस्थान तथा पदमार्ग निर्माण भएको खण्डमा अबको पाँच वर्षमा गिडिदहमा पर्यटकहरूको घुइँचो लाग्ने निश्चित छ । 

तातोपानी ४ का वडाध्यक्ष अम्मर बहादुर रोकायाले ऐतिहासिक गिडिदह सम्मेलनले तातोपानी समृद्धिको ढोका खुलेको बताउनुभयो । जुम्लाकै ठुलो ताल ओझेलमा थियो । उहाँले भन्नुभयो,“आर्थिक समृद्धि र रोजगारी सृजनाको आधार बन्ने सम्भावना गिडिदह र यहाँका पाटनमा छन् । लगानीको अभाव छ । चालु आवमा गिडिदह सम्मेलनका लागि पालिकाबाट २ लाख छुटाइएको थियो । अब जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा गिडिदहलाई विकास गरिने छ ।” गिडीदह जङ्गलभित्र झन्डै २ दर्जन प्रजातिका वन्यजन्तु र विभिन्न लोपोन्मुख पन्क्षीहरु समेत पाईने वडाध्यक्ष रोकाया बताउनुहुन्छ ।  

‘गिडीदह कर्णाली प्रदेशको प्रख्यात ताल हो । तर प्रचारप्रसारको अभावले लुकेको अवस्थामा छ । वडाध्यक्ष रोकायाले थप्नुभयो,“सम्मेलनले दहको पर्यटन प्रवद्र्धनका लागि ठोस कार्ययोजना बनाउन सहयोग पुग्नेछ ।” वडा कार्यालयले गिडीदहसम्म जाने बाटोको अवस्था अध्ययन गर्ने र होर्डिङ बोर्ड राख्ने काम गरेको छ । हाँकुबाट हिँडेर गिडी खोला, भाडु, रातामाटा हुँदै बेलुका फूलचौँल्या पाटनमा मौलाहाल्न, तामाचौर, ऐरीजाल गैरीगुम हुँदै गिडी तालको अवलोकन सकिएको छ ।

पर्यटकीय सम्भावना : दर्जनौँ पाटन, दह र वन्यजन्तु 
गिडी ताल सम्मेलन २०७९ असोज ४ देखी ६ द्वारा जारी घोषणा पत्रमा गिडिदह (ताल) मात्र नभई दर्जनौँ पाटन र दहका हिसाबले प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँका रुपमा चर्चित रहेको उल्लेख छ । 

गिडीखोला गाँऊको सिरानमा अवस्थित गिडीदह र त्यस दहको  वरिपरि रहेका पाँच सय पाटन तथा पाटनहरूमा अवस्थित रमणीय दह, धार्मिक स्थल, जडीबुटी, वनस्पति, जनावर तथा पंक्षीहरुले पर्यटन गतिविधि बढाउने सम्भावना प्रबल छ । 

गिडीताल पर्यटन क्षेत्र अन्तर्गत पर्ने फूलचउल्या पाटन लामाचौर पाटन, ढाँग्रे, भ्याउन्या खर्क, गैरी गुम, ऐरीजाल,भदाल्या, गाडखर्क, खानी, माझपाटन, बजेडी, लसुनधारी, ठाकुर ज्यू, विष्टज्यू, नाना हाँक, ठुला हाँंक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौड लगायतका पाटन क्षेत्र रहेका छन् । 

साथै गिडी ताल पर्यटन क्षेत्रमा धार्मिक क्षेत्रहरू भुरीचुला, ठाकुर ज्यू, बिष्ट ज्यू, गणेश थान, देउता, निस्केका गैरा, नाचल ढुंगी, महादेव मष्टो देवता लगायतका धार्मिक क्षेत्र छन् । भने, गिडी ताल पर्यटन क्षेत्र अन्तरगत पर्ने जोगिनी दह, बिष्ट ज्यू दह, खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह छन् । यी पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू लगानी कुरिरहेका छन् । 

विभिन्न जडीबुटी सँगै कस्तुरी, रेडपाण्डा, घोरल, थार, झारल, व्यासो, बाघ भालु लगायतका मृग, र डाँफे,कालिज, फग्रास, चिल, गिद्ध, च्याखुरा लगायतका पंक्षीहरु समेत त्यस क्षेत्रमा रहेकाले आरक्षण क्षेत्रका रुपमा विकास गरिनु पर्ने बहस थालिएको छ । 

गिडी दहकै पानीले आसपासका बस्ती हराभरा छन् । गिडी खोलाको पानीबाट निकालिएको बत्तीले गाउँहरू झिलिमिली भएका छन् ।  त्यही खोलाको मुहानको रूपमा रहेको गिडी ताल संरक्षणमा कसैको चासो गएको थिएन् । तर तातोपानी गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै गिडिदह पर्यटन प्रवर्द्धनको प्रयास सुरु भएको छ । 

छोटो रुट निर्माणमा जोड
सम्मेलनका लागि गएको सरकारी टोलीले गिडिदह पुग्न चार दिन लगायो । गिडिदहमा पुग्दा ताल अवलोकन गर्ने बाटो समेत थिएन । प्रचारप्रसार तथा पर्यटकीय गतिविधि नभएरै होला गिडिदहमा सहज बाटोको पहुँच छैन । त्यहाँ पुग्ने बाटो र बीचमा बस्ने बास नहुँदा पर्यटक आउजाउमा समेत समस्या छ । 

गिडिदहको चारै तिर जङ्गल र उत्तर दिशामा कडा चट्टान छ । तालसम्म पुग्ने गोरेटो बाटो समेत छैन । भने ताल वरिपरि समेत घना जङ्गल छ । जसका कारण तालको क्षेत्रफल अहिले सम्म पत्ता लगाउन सकिएको छैन । 

सम्मेलनमा सहभागी लेखक खडानन्द चौलागाई, बुद्धिजीवी शिवशङ्कर चौलागाई, पूर्ण प्रसाद न्यौपाने, पर्यटन व्यवसायी शिव बुढा, विरेन्द्र बुढा, नारायणी चौलागाई लगायतका व्यक्तिले पालिकाको मात्र नभई जिल्लाकै आर्थिक समृद्धि र रोजगारी सृजनाको एक मात्र अस्त्र  गिडिदह बन्न सक्ने भएकोले पूर्वाधार विकास तथा प्रचारप्रसार र छोटो रुट निर्माणमा जोड दिनु पर्ने सुझाव दिए ।  तत्काल तालको क्षेत्रफल पत्ता लगाउन समेत माग गरिएको छ ।  

पर्यटकको सहज आगमन तथा तालको क्षेत्रफल पत्ता लगाउन वरिपरि गोरेटो बाटो निर्माण तथा फूलचौँल्यादेखि गिडिदह सम्म छोटो पदमार्ग निर्माण प्रक्रियाको पहल गरिने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो । उनका अनुसार पूर्वाधार विकास बिना पर्यटन प्रवर्द्धन सम्भव नभएकोले आर्थिक समृद्धि भित्राउन रोजगारी सृजना गर्न लगानी भित्राउने वातावरण तय गर्नुपर्ने छ । 

त्यस्तै तालको रोचकतालाई बयान गर्दै स्थानीय दुर्गा प्रसाद पाण्डेले भने,“सयौँ वर्ष पहिला शिकार खेल्न गएका मान्छेहरू गिडिदह किनारमा बसेका थिए । आफू बसेको मुनितिर दह रहेको र बरफ जमेको माथि बसेको छौ भन्ने कुरा उनीहरूलाई हेक्का थिएन् । आगो बल्दै जाँदा बरफ पग्लेर सबै शिकारी त्यही डुबेर मरेको कथन छ । त्यसपछि त्यहाँ जान छोडिएको थियो ।” आफू पाटनमा घोडी खोज्ने क्रममा २०४८/०४९ साल तालमा पुगेको उनको भनाई छ । 

दह, पाटन क्षेत्र पवित्र धार्मिक स्थल, जडीबुटी, वनस्पति, जङ्गली जनावर तथा पंक्षीको अवस्थाका बारेमा प्रचार प्रसार गरी गिडी ताल क्षेत्रको महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उजागर गर्न आवश्यक छ । 

गिडिदहको पर्यटन प्रवर्द्धन गरी जुम्लाकै आर्थिक समृद्धि र बेरोजगारी अन्त्यको अस्त्र बन्ने  अपेक्षा गरिएको छ । बाह्य तथा आन्तरिक लगानी बढाई पर्यटकीय पूर्वाधार विकासमा जुट्न समेत समेत तातोपानी गाउँपालिकाले नीतिगत व्यवस्था गर्न समेत आवश्यक छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button