तपाईँ सुन्दै हुनुहुन्छः

प्रारम्भिक बाल विकासलाई दलहरूको घोषणापत्रमा समावेश गर्न माग

काठमाडौँ । प्रारम्भिक बाल विकासलाई राजनीतिक दलहरूको चुनावी घोषणापत्रमा समावेश गर्न सरोकारवालाहरूले माग गरेका छन् ।

प्रारम्भिक बाल विकासका लागि सङ्घीय सांसदहरूको सहकार्य समन्वय समूहले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सांसद सरिता गिरीले आउँदै गरेको निर्वाचनमा सबै दलहरूले आ–आफ्ना घोषणापत्रमा प्रारम्भिक बाल विकासका विषयलाई प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रारम्भिक बाल विकास विज्ञ डा.दिपु शाक्यले बाल विकासका लागि राज्यको तर्फबाट उपयुक्त वातावरण निर्माण हुन नसकेको बताउनुभयो ।

गर्भावस्थादेखि ८ वर्षसम्मको उमेरमा बालबालिकाको ९० प्रतिशत मानसिक विकास हुने हुँदा यो उमेर समूहका बालबालिकाको विकास र संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी नेपाली काँग्रेसको घोषणापत्र लेखन समितिका सदस्य कृष्णप्रसाद पौडेलले पार्टीले तयार गर्न लागेको चुनावी घोषणापत्रमा प्रारम्भिक बाल विकासका विषयलाई उपर्युक्त स्थान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रारम्भिक बालविकास विज्ञ डा. मिनाक्षी दाहालले आजका बालबालिका भोलिका कर्णधार हुन् भन्ने भनाइलाई व्यवहारमा कार्यान्वयन गर्न अझै समस्या रहेको बताउनुभयो ।

कार्यक्रमका सहभागीहरूले प्रारम्भिक बाल विकासका लागि स्वास्थ्य, पोषण, संरक्षण, शिक्षा तथा अन्य सेवा बालबालिकाले एकीकृत पाउने गरी व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button