२०७९ साल असोज १६ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा कृषि ज्ञान केन्द्र स्थापना

कुमोद अधिकारी २०७९ असोज ७ गते १६:४२

विराटनगर । प्रदेश नं १ कृषि मन्त्रालयले कृषिसम्बन्धी सेवा प्रवाह एकै स्थानबाट उपलब्ध गराउन कृषि ज्ञान केन्द्र मोरङको कार्यालय आजदेखि सञ्चालन ल्याएको छ । विराटनगर–१३ मा कार्यालय स्थापना गरी मन्त्रालयले कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको हो ।

जिल्लाका १७ स्थानीय तहका कृषकहरूलाई बाली, बागवानी, कृषि उपजमा लाग्ने रोग तथा किरा नियन्त्रण, कृषिसम्बन्धी सम्पूर्ण कार्यक्रम तथा, कृषि अनुदान एवं कृषि क्याम्पसका विद्यार्थीहरूलाई अध्ययनमा समन्वय गर्ने लगायतका सेवा ज्ञान केन्द्रबाट प्रवाह हुने कार्यालय प्रमुख रामदेव सिंहले बताउनुभयो ।

प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले केन्द्रको उद्घाटन गर्दै ज्ञान केन्द्रको स्थापनाले कृषकहरूले सहज रूपले सेवा पाउने तथा कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सङ्घीयताको मर्म अनुसार प्रदेश सरकार प्रदेशका सबै जिल्लामा ज्ञान केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको भन्दै कृषि क्षेत्रमा आबद्ध कृषकलाई आवश्यक सेवा एवं सहयोग गर्न कार्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले व्यावसायिक रूपमा जिल्लाका पालिकाहरूमा कृषकका उत्पादनहरूलाई उचित मूल्य प्राप्त गर्न तथा शितभण्डार स्थापनामा मन्त्रालयको सहयोग रहने बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कृषि उत्पादनमा मोरङको ठुलो महत्त्व रहेको बताउँदै कार्यालयको स्थापनाले कृषि उत्पादन तथा आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा कृषि विकास कार्यालयका निर्देशक प्रकाश डाँगी, वुढीगंगा गाउँपालिकाका प्रमुख जितनारायण थापामगर, जहदा गाउँपालिकाका प्रमुख जितेन्द्र प्रसाद साह र कृषक कोपिन्द्र सिंहले मोरङमा कार्यालय स्थापनाले कृषकलाई अब सुनसरी जिल्लाको ज्ञान केन्द्र धाउनु नपर्ने भन्दै खुसी व्यक्त गर्नुभयो ।

यस अघि मोरङ र सुनसरी जिल्लालाई हेर्ने गरी ज्ञान केन्द्र सञ्चालनमा थियो ।

प्रदेशका १४ मध्ये ११ जिल्लामा केन्द्र स्थापना भैसकेको छ भने तेह्रथुममा यही असोज ९ गते र ताप्लेजुङमा असोज १० गते कार्यालय स्थापना हुने जनाइएको छ ।

सम्बन्धित