तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि समिति

काठमाडौँ । सरकारले चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनीकरणका लागि आवश्यक निर्देशन समेत दिन सक्ने गरी समिति बनाउनुपर्ने प्रस्ताव गर्नु भएको थियो । प्रधानमन्त्री देउवाले चाडपर्वमा नागरिक सहज तरिकाले आफ्नो घरसम्म पुग्न सक्ने गरी यातायातको व्यवस्थापन हुनुपर्ने बताउनुभएको थियो । 

त्यसपछि मन्त्रिपरिषद् बैठकमा गृह प्रवक्ता पोखरेलको संयोजकत्वमा काठमाडौँ उपत्यका टा«फिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरी टा«फिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको हो । 

समितिले सडक दुर्घटना न्यूनीकरणका लागि के गर्नुपर्छ ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने ? आम नागरिकलाई सहरबाट गाउँ गाउँसम्म कसरी सुरक्षित रूपमा पुर्‍याउने भन्ने बारेमा अध्ययन गरी सम्बन्धित निकायलाई कार्यान्वयनका लागि निर्देशन दिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button