तपाईँ सुन्दै हुनुहुन्छः

३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरिक सहभागिता बढाउन पारस्परिक जबाफदेहिता परियोजना सफल

काठमाडौँ । जबाफदेही र समावेशी शासन व्यवस्थाका पक्षमा पैरवी गर्न सञ्चालित पारस्परिक जबाफदेहिता परियोजना ३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरिक सहभागिता बढाउन र नागरिक संस्था र मिडियाका लागि सबल वातावरण बनाउन सफल भएको छ ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड)को सहयोगमा एफएचआइ ३६० ले विभिन्न नागरिक संस्थाहरू सँगको सहकार्यमा ६ वर्षको सफल कार्यान्वयन पछि आयोजित समापन समारोहमा यस्तो जानकारी दिइएको हो ।

संघीय तथा प्रदेश तहमा सार्वजनिक कानुन तथा नीति निर्माणमा नागरिक समाज र मिडियाको नेतृत्वलाई प्राविधिक सहयोग, रेडियो तथा सामाजिक सञ्जाल लगायतका माध्यम मार्फत् नागरिकका चासोका मुद्दामा कार्यक्रम, सहभागितामूलक पद्धतिबाट जबाफदेहिताको खोजी, नागरिक संस्था र मिडिया प्रतिको जनविश्वास, दक्षता र नेतृत्व क्षमता बढाएर जबाफदेही सरकारका लागि पहल, मानवअधिकार क्षेत्रमा कृयाशील संस्थाको क्षमता विकास र समावेशी सहभागिता सहितको जबाफदेही सरकारका लागि दक्षता वृद्धि गर्नका लागि ३५ सय बढी गतिविधि परियोजनाले पछिल्ला ६ वर्षमा गरेको छ ।

नागरिकका प्रश्न र विचारहरूका लागि मञ्च प्रदान गर्ने, स्थानीय अधिकारीहरूलाई जबाफदेही, समावेशी बनाउन र निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउन पैरवी गर्ने, स्थानीय स्रोतको परिचालन, नागरिक अधिकारका पक्षमा पैरवी, क्षमता विकास र दिगोपनका पक्षमा परियोजनाले उल्लेख्य योगदान पुर्‍याएको एफएचआइ ३६० नेपालका कन्ट्री डाइरेक्टर भगवान् श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भन्नुभयो, “हामीले काम गरेका ५७ नगरपालिकाहरूमा नागरिक संलग्नता र सहकार्यात्मक शासनमा सशक्त सुधार देख्यौँ । परियोजनाले काम गरेका ६ प्रदेशका ३४ जिल्लामा नागरिकलाई आफ्नो सरकार सँग जोड्ने काम गर्‍यो ।”

परियोजना अप्रिल ४, २०१६ देखि सेप्टेम्बर ३०, २०२२ सम्म लागू भएको हो । इक्वल एक्सेस इन्टरनेशनल र इन्टरनेशनल सेन्टर फर नट फर प्रफिट ल को साझेदारीमा यो परियोजनाको नेतृत्व एफएचआइ ३६० ले गरेको थियो । यसमा एक सय बढी नागरिक समाजका सङ्गठन, मिडिया र स्थानीय तथा संघीय सरकार तथा संवैधानिक निकायहरूको समेत साझेदारी थियो ।

समावेशी सहभागिता र जबाफदेहीताका सिद्धान्तहरूमा केन्द्रित हुँदै पारस्परिक जबाफदेहिता परियोजनाले ६ प्रदेशका ३४ जिल्लाका ५७ नगरपालिकामा वडादेखि नगरपालिका र जिल्ला तहसम्म नागरिक संलग्नता र सहभागितामूलक शासनका लागि पैरवी गरेको छ । यसमा २२ शहरी र ३५ ग्रामीण क्षेत्रका नगर छानिएका थिए । साथै संघ तथा प्रदेश तहमा नागरिक संस्था तथा मिडिया सग्ाँ सम्बन्धित नीति वकालत गर्न संघ तहमा २२ वटा कानुन तथा मस्यौदा र स्थानीय सरकारको तहमा एकसयवटा नीति निर्माण सहयोगमा परियोजना सफल भएको छ ।

परियोजनाको सहजीकरणमा सबै नगरपालिकाहरूले स्थानीय शासनमा वडा तहबाटै नागरिक सहभागिता सुनिश्चित गर्ने नीति अङ्गीकार गरेका छन् । त्यसका लागि वार्ड स्तरमा साझा सभाहरू, नगरपालिका स्तरमा साझेदारी फोरमहरू र जिल्ला स्तरमा नागरिक सञ्जाल मार्फत् स्वास्थ्य, शिक्षा, कृषि र विपद् जोखिम न्यूनीकरणमा केन्द्रित पहल भएका छन् । यी सबैमा परियोजनाका साझेदार र सहयोगीहरूको संस्थागत र नेतृत्व क्षमता बलियो बनाउन तथ्यपरक र लक्षित गतिविधि भएको छ ।

एफएचआइ ३६० संयुक्त राज्य अमेरिका र विश्वभरिका मानिसहरूको स्वास्थ्य र कल्याण सुधार गर्न काम गर्ने अन्तर्राष्ट्रिय गैरनाफामुखी संस्था हो । यसले सकारात्मक सामाजिक परिवर्तन ल्याउन र जीवन बचाउने स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र अर्थपूर्ण आर्थिक सहभागिताका अवसरहरू उपलब्ध गराउन सरकार, निजी क्षेत्र र नागरिक समाजसँग साझेदारी गर्छ । नेपालमा झण्डै तीन दशकदेखि, नेपाल सरकार र अन्य साझेदारहरूसँग मिलेर देशको स्वास्थ्य र विकासका मुद्दामा हातेमालो गरिरहेको छ ।

यो संस्थाले कोभिड १९ प्रतिकार्यमा समेत यूएसएडको सहयोग मार्फत् नेपाल सरकारको मुख्य साझेदारको भूमिका निभाइ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button