तपाईँ सुन्दै हुनुहुन्छः

कोष नियन्त्रक चन्दको डेंगु रोगका कारण मृत्यु

अछाम । अछाम जिल्लाका कोष नियन्त्रक जयबहादुर चन्दको डेंगु रोगका कारण मृत्यु भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय अछाममा विगत दुई वर्षदेखि कार्यरत चन्दको डेंगु रोगका कारण उपचारकै क्रममा भारतको लगनउमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताउनुभयो । 

जिल्ला अस्पतालमा डेंगु रोग पुष्टि भएका करिब ४५ वर्षका चन्दलाई थप उपचारका लागि बाहिर रेफर गरिएको जिल्ला अस्पताल अछामका नसिंङ स्टाफ तथा सूचना अधिकारी गंगा बुढामगरले बताउनुभयो । त्यसपछि उहाँलाई सुर्खेत, नेपालगञ्ज हुँदै लखनउ पुर्‍याएको थियो । 

मङ्गलवार उच्च ज्वरो तथा समस्या भएको भन्दै आफूलाई खबर आएको र आफूले उपचारका लागि बाहिर जान सुझाव दिएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताउनुभयो । 

सल्यान घर भएका मल्ल दुई वर्षदेखि अछाममा कार्यरत रहनुभएको उहाँले बताउनुभयो ।  सुर्खेतबाट नेपालगञ्ज लगिएका उहाँको रगतमा अक्सिजनको मात्रा घटेको र थप उपचारका लागि बाहिर लिनुपर्ने खबरसम्म आफूलाई प्राप्त भएको उहाँको भनाई छ । 

अक्सिजनको व्यवस्था भएको हेलिकोप्टर तथा एयरबस नपाइएपछि उहाँलाई लखनउ लगिएको बुझिएको छ । लखनउमा उपचारकै क्रममा कोष नियन्त्रक चन्दको मृत्यु भएको हो । 

देशभरि महामारीको रूप लिइरहेको डेंगु अछाम जिल्लामा पनि बढिरहेको छ । खास गरी बढी गर्मी हुने तथा तराईका जिल्लामा देखिने डेंगु रोग अछाममा पनि देखिन थालेको हो । 

हालसम्म जिल्ला अस्पतालमा १० जनालाई डेंगु रोग पुष्टि भइसकेको छ । बयालपाटा अस्पतालमा कालाजारका बिरामी समेत देखिएका बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button