तपाईँ सुन्दै हुनुहुन्छः

गैरसरकारी संस्थालाई पारदर्शी बनाइने छ : प्रधानमन्त्री देउवा 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरू समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभएको छ । 

४३ औँ सामाजिक सेवा दिवसका अवसरमा समाज कल्याण परिषद्ले आज काठमाडौँमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले कतिपय सामाजिक संघ संस्थाहरू शहर केन्द्रित हुनु, संस्थाको सञ्चालन र परिचालन विधि तथा कानून भन्दा पनि आफूखुसी गरेको पाइनु र संस्थाका पदाधिकारी बीच विवाद हुनुजस्ता समस्या आउने गरेकाले त्यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । 

समाज कल्याण परिषद्लाई सामाजिक संघ संस्थाको थप प्रभावकारी रुपमा  अनुगमन र मूल्याङ्कन गर्न आग्रह गर्नुहुँदै प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थालाई वैज्ञानिक र जनमुखी बनाउन पनि आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले सरकारी तथा गैरसरकारी संस्थाको परिचालनलाई परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता हेरी प्राथमिकताका क्षेत्रमा सामाजिक संघ संस्थालाई समेत संलग्न गराई नीति तथा कार्यक्रम तयार गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले नेपालमा सञ्चालित विभिन्न सामाजिक संस्थाहरूको अनुगमन र मूल्यांकनसहित सूक्ष्म अध्ययन गरिरहेका जानकारी दिनुभयो । 

मन्त्री रेग्मीले समाज विकासमा टेवा दिने उद्देश्यले स्थापना भएका सामाजिक संघ संस्थालाई सरकारले प्रभावकारी बनाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले सामाजिक कार्य गर्न भनेर सञ्चालन अनुमति लिएका सरकारी तथा गैरसरकारी संस्थाले उद्देश्य अनुरुप काम गरे नगरेको वैज्ञानिक रुपमा अनुगमन हुँदै आएको स्पष्ट पार्नुभयो ।  

त्यस अवसरमा प्रधानमन्त्री देउवाले समाज कल्याण परिषद्को सम्पूर्ण सेवा अनलाइन प्रविधिबाट दिने उद्देश्यले तयार गरिएको डिजिटल पोर्टलको शुभारम्भ गर्नुभयो । 

कार्यक्रममा समाज कल्याण परिषद्मा २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button