तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या एक लाख नजिक 

सर्लाही । सर्लाहीमा स्वास्थ्य बिमा कार्यक्रम लागू भए यता झन्डै एक लाख जनाले स्वास्थ्य बिमा गराएका छन् । २०७७ चैत्रको चौथो हप्ताबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा गत भाद्र महिनाबाट लागू हुने गरि बिमा गर्नेको सङ्ख्या ९७ हजार ७ सय ८१ पुगेको स्वास्थ्य बिमा बोर्ड सर्लाही शाखाका संयोजक चेतन घिमिरेले बताउनु भयो । 

नेपाल सरकारले २०७७ सालको चैत्रमा एकै साथ देशका पाँच जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्दै देशका ७७ जिल्ला मध्ये ७५ जिल्ला बाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । काठमाडौँ र भक्तपुर जिल्लामा अझै यो कार्यक्रम लागू भएको छैन । 

सर्लाहीमा भने हालसम्म ज्येष्ठ नागरिक १० हजार ५ सय ८१ , पूर्ण अपाङ्ग २ हजार ९ सय ९०, एच आई भि संक्रमित १ सय ६७, कुष्ठ रोगी ५६ क्षयरोगी १० घर परिवार रहेका छन् । त्यस्तै महिला स्वास्थ्य स्वयम् सेविका ५ सय ३१ र सामान्य परिवार १४ हजार २ सय १७ घर परिवारले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सर्लाही शाखाले जनाएको छ । स्वास्थ्य बिमा गर्नको लागि ३ हजार ५ सय तिरे पछि  एक परिवारको ५ जना सम्मको बिमा गर्न सकिने र उनीहरूले वर्षमा एकजना बराबर २० हजारका दरले एकलासम्मको औषधि उपचार सेवा निःशुल्क लिन सक्ने छन् । तर ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिक ,पूर्ण अपाङ्ग (रातो कार्ड ) भएका त्यस्तै एच आई भि ,कुष्ठरोग  ,क्षयरोग संक्रमित र राज्यले तोकेको अति विपन्न परिवारको लागि भने स्वास्थ्य बिमा गर्दा कुनै शुल्क तिर्न नपर्ने राज्यले छुट दिएको छ  । 

महिला स्वास्थ्य स्वयम सेविकाको परिवारलाई ५० प्रतिशत छुटमा बिमा गर्न सक्ने व्यवस्था रहेको बिमा बोर्डले जनाएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले ओपिडी ,एक्सरे ,ल्याब सेवा, इसिजी, एमआर आइर्,  सिटी स्क्यान, इमर्जेन्सी सेवा अस्पताल भर्ना तथा निःशुल्क औषधि उपचार सेवा  उपलब्ध गराएको भए पनि नागरिकमा स्वास्थ्य बिमाको बारेमा जानकारी हुन नसक्दा र स्वास्थ्य बिमाको बारेमा बुझाउन नसक्दा स्वास्थ्य बिमा गर्नेको सङ्ख्यामा खासै वृद्धि हुन सकेको छैन  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button