तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा डेंगी फैलिएसँगै  खोज र नष्ट गर अभियान

सिन्धुपाल्चोक । देशैभर डेंगी फैलिएसँगै सिन्धुपाल्चोकमा पनि संक्रमित थपिन थालेका छन् । डेंगी नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, विभिन्न सघंसस्थाहरुले पनि अभियान सञ्चालन गरिरहेका छन् । बुधवार  मेलम्चीमा डेंगी नियन्त्रणका लागि स्प्रे अभियानका साथै सचेतना अभिमुखीकरण समेत गरेको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण दर घट्दोक्रममा रहे पनि डेंगी रोग महामारीको रुपमा फैलिरहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामको प्रयास थालिएको छ । महिला आत्मनिर्भरता केन्द्र मांकले फेयरमेडको साझेदारीमा मेलम्ची नगरपालिकाका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । यसका साथै खोज र नष्ट गर अभियानमा समेत नगरपालिकासँग समन्वय गरिएको मांककी परियोजना संयोजक मनिषा हाडाले बताउनुभयो ।

मेलम्ची नगरपालिकामा हालसम्म दुई जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मेलम्ची नगर अस्पतालमा ल्याब भए पनि किटको अभाव छ । नगरपालिकाले बजार क्षेत्रमा पानी जमेका स्थान, खाल्डाखुल्डीलगायत विभिन्न स्थानमा स्प्रे गर्नुका साथै खोज र नष्ट गर अभियान चलाइरहेको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनी बताउनुहुन्छ ।

हालसम्म सिन्धुपाल्चोक जिल्लामा २८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीयतहसँग समन्वय गर्दै डेंगी रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारीले  बताउनुभयो ।

लामखुट्टेले डेंगी रोगबाट संक्रमित भएको मानिसलाई टोकेर फेरि अर्को मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ । यसबाट बच्नका लागि पानी जम्न नदिने, घर वरिपरि सरसफाइ राख्ने, मच्छडधुप, कीटनाशक विषादी छर्ने र राती सुत्दा झुलको प्रयोग गर्न स्वास्थ्य कार्यालयको सुझाव रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button