तपाईँ सुन्दै हुनुहुन्छः

राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाइने : मन्त्री शर्मा

गोरखा । अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण  र समृद्धिको सन्दर्भमा न्याय खोजेको देखिएकोले यसले पूर्णता पाउने बताउनुभएको छ ।  लिगलिगकोट र पालुङ्टारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

पालुङटारमा आयोजित दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले पालुङटारलाई आइसिटिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने बताए  सङ्घीय सरकार र अर्थ मन्त्रालयबाट सबै सहयोग गर्ने बताउनुभयो । स्मार्ट सिटिमा गरिबी र अभाव भन्ने कुरा हुँदैन । उत्पादनसँग जोडेर आयातित बस्तुलाई विस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । 

नजिकै नदी बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिँचाई गर्न सकिरहेका छैनौँ, यो पानीलाई टारमा ल्याउने योजना प्राथमिकतामा राख्नुपर्दछ । यसका लागि सरकारले बजेट प्रदान गरेको छ, कामलाई द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु, मन्त्री शर्माले भन्नुभयो । 

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत् आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाई सिफारिस गरेको मन्त्री शर्माले भन्नुभयो ।  मध्य पहाडी लोकमार्ग यही पालुङ्टार भएर अघि बढेको छ। पालुङ्टारले बाहिरबाट आउने बस्तुलाई विस्थापित गर्ने योजना तय गर्नुपर्ने उहाँको भनाइ छ । 

सङ्घीयता कार्यान्वयनका लागि दलहरू बीच राजनैतिक एकता अपरिहार्य भएकोले मलाइ यो चिन्ह मन परेन, म सांसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन, सँसदको निर्वाचन सांसद बनाउन र मन्त्री बनाउन होइन, परिवर्तन पछि भएको व्यवस्थालाई कायम राख्न र साम्यवादमा पुग्नका लागि एकता कायम भएको हो  मतदानमा तलमाथि गर्न हुँदैन ।

सङ्घीयतालाई स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता छ । पालुङ्टारमा बसेर विकास भएन , हामीलाई विकास चाहियो भनेर भन्न पाउनु सङ्घीयताको उपलब्धि हो  ।  सङ्घीय लोकतान्त्रिक व्यवस्थाको अस्तित्व  राजनैतिक पार्टीहरूको अस्तित्वसँग जोडिएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन ।

सरकारले लिएको नीतिका कारण सरकारका आर्थिक सूचाङकहरु सकारात्मक अवस्थामा पुगेका छन् । केही तरलताको अभाव अझै कायम छ । यसमा हामीले काम गरिरहेका छौँ । बैङ्कमा व्याज पाउने उद्देश्यले पैसा राखेर उत्पादन नहुने उनले बताए । बैङ्कले दिने गरेको व्याज घटाउन हामी लागि परेका छौँ ।  सबै नागरिकहरूलाई आत्मनिर्भर बनाउन हामी लागि परेका छौँ मन्त्री शर्माले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button