तपाईँ सुन्दै हुनुहुन्छः

विधेयक प्रमाणीकरण नभएर संविधानको उल्लङ्घन भएको छ : पूर्व राष्ट्रपति डा.यादव 

जनकपुरधाम  । पूर्व राष्ट्रपति डा.रामवरण यादवले जनताको आस्था र भरोसाको केन्द्रको रुपमा रहेको प्रतिनिधिसभा तथा राष्ट्रियसभाले दुई /दुई पटक पारित गरेको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भएको बताउनुभएको छ । 

पूर्व राष्ट्रपति यादवले जनकपुर क्षेत्रमा आधुनिक शिक्षाको विकासमा ठूलो योगदान रहेको सरस्वती नमूना माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको आज शिलान्यास कार्यक्रममा सो कुरा बताउनुभएको हो । 

उहाँले दुवै सदनबाट पारित गरेको विधेयकमा पहिलो पटक सुझावसहित फिर्ता पठाउने राष्ट्रपतिको संवैधानिक अधिकार भए पनि दोस्रो पटक पारित गरेर आएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुको कुनै विकल्प नहुने संवैधानिक व्यवस्था संविधानमा स्पष्ट रुपमा रहेको बताउनुभयो । 

पूर्व राष्ट्रपति यादवले विश्वका लोकतान्त्रिक मुलुकहरूमा यस्तै प्रकारको व्यवस्था रहेको बताउँदै राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नभएर विश्वका लोकतान्त्रिक मुलुकहरूको नजिरको उल्लङ्घन गर्ने काम भएको दाबी पनि गर्नुभयो । 

उहाँले संविधानको रक्षक र पालक भएका राष्ट्रप्रमुखबाट यस्तो काम हुनु निक्कै दुःखद भएको बताउनुहुँदै यस विषयमा कानून विज्ञहरुसँग परामर्श लिनु पर्नेमा नलिनु संस्थाको मर्यादामा आघात पुर्‍याउने काम भएको बताउनुभयो । 

उहाँले २००४ सालमा नै आधुनिक शिक्षाको विकासमा सरस्वती नमूना माध्यमिक विद्यालयले पूर्व राष्ट्रपति, मन्त्री, सचिव तथा काठमाडाँै विश्व विद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा जस्ता व्यक्तिहरूको चरित्र निर्माण गर्ने काम भएकोले यसको विकासमा सबैको साथ आवश्यक भएको बताउनुभयो । 

पूर्व राष्ट्रपति डा.यादवले विद्यालयको सुधारका लागि शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधि ईमान्दार नभएसम्म शिक्षाको पुरानो विरासत हासिल गर्न  कठिन हुने बताउनुभयो । 

शहरी विकास मन्त्री मिटमणि चौधरीले यस विद्यालयले नेपालका प्रथम राष्ट्रपति जस्ता नागरिक उत्पादन गरेको बताउँदै विद्यालयको विकासका लागि मन्त्रालयले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनुभयो । 

उहाँले सरकारको उच्च प्राथमिकतामा जनकपुरधामको सांस्कृतिक तथा धार्मिक विकास रहेको बताउँदै जनकपुरधामको विकासले विश्वका हिन्दू पर्यटकहरूले लाभ पाउने बताउनुभयो । 

उहाँले जनकपुरधाम, लुम्बिनी तथा पोखराको विकास गर्नका लागि शहरी विकास मन्त्रालयले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनुभयो । 

शहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहले अबको पाँच वर्षमा जनकपुरधामको स्वरूप नै परिवर्तन हुने आशा गर्दै फोहरको दीर्घकालीन व्यवस्थापनका लागि तत्काल जग्गासहित प्रस्ताव मन्त्रालयमा उठाउनका लागि  उपमहानगरपालिकालाई सुझाव दिनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख किशोरी साह, वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले विद्यालयको इतिहासका बारेमा प्रकाश पार्नुभएको थियो । 

शहरी विकास मन्त्रालयको १० करोडको लागतमा सुविधा सम्पन्न दुई तल्लाको विद्यालयको कक्षा कोठाको सहितको भवन, दुवै तल्लामा छात्र तथा छात्र शौचालयको निर्माण डेढ वर्षमा सम्पन्न हुने भएको छ । 

भवनको शिलान्यास पूर्व राष्ट्रपति डा. यादव र शहरी विकास मन्त्री चौधरीले संयुक्त रुपमा गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button