तपाईँ सुन्दै हुनुहुन्छः

समयमै काम नहुँदा विद्यालय भवन अलपत्र 

दाङ । आर्थिक वर्षको अन्तिम समयमा भवन निर्माणको सम्झौता गरेको बबई ३ मा रहेको जनता मावि हंसपुरको भवन निर्माण अलपत्र परेको छ । आर्थिक बर्ष २०७८÷०७९ को अन्तिम समयमा सम्झौता गरेको विद्यालयले भवनको सम्पूर्ण काम गर्न नसकेपछि अलपत्र परेको हो ।   

लुम्बिनी प्रदेश सरकारले चार कोठे भवन निर्माणका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चार कोठे भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले २०७९ जेठ ६ गते सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरसँग सम्झौता गरेको थियो । 

विद्यालय व्यवस्थापन समितिले गरेको सम्झौता अनुसार काम पूरा नभएपछि रकम फिर्ता भएर भवन निर्माण कार्य अलपत्र भएको छ । २०७९ असार २१ गतेको अन्तिम समय प्राप्त गरेको विद्यालयले काम नसकेपछि रकम फिर्ता भएको हो ।

सम्झौतामा उल्लेख भए अनुसार विद्यालय व्यवस्थापन समितिले काम सम्पन्न गर्न नसकेपछि करिब १९ लाख रुपैयाँ विद्यालयले प्राप्त गर्न नसकेको हो । विद्यालयले ३५ लाख रुपैयाँमध्ये १६ लाख रुपैयाँ प्राप्त गरेको थियो ।  

विद्यालयले सम्झौता अनुसार भवनको पिलर उठाउने र इट्टाको वाल उठाउने काम गरेको छ । भवनका लागि आवश्यक पर्ने ढलान, प्लास्टर तथा रंगरोगनको काम हुन सकेको छैन । विद्यालयले भवनको पिलर उठाएको र इट्टाको वाल उठाएको काम गरे बापत करिब १६ लाख रुपैयाँ प्राप्त गरेको थियो । 

जेठको ६ गते सम्झौता गरेको विद्यालय व्यवस्थापन समितिले असार २१ गतेसम्म सबै काम नसकेपछि ३५ लाख रुपैयाँमध्ये १६ लाख रुपैयाँ प्राप्त गरेको प्रधानाध्यापक मोहनकुमार दाहालले जानकारी दिनुभयो । बाँकी काम हुन नसकेपछि विद्यालयका नाममा विनियोजन भएको रकम फिर्ता भएको हो । 

यसैबीच विद्यालयका प्रधानाध्यापक मोहनकुमार दाहालले भने चालु आर्थिक वर्षमा भवन निर्माण पूरा हुने बताउनुभएको छ । विद्यालयको भवन निर्माण गर्न र वाल लगाउनका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन भएको भन्दै प्रधानाध्यापक दाहालले यस आर्थिक वर्षमा भवन निर्माण कार्यले पूर्णता पाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button