तपाईँ सुन्दै हुनुहुन्छः

अझै पारित हुन सकेन पाणिनी गाउँपालिकाको बजेट 

अर्घाखाँची । स्थानीय तहको निर्वाचन २०७९ पछि स्थानीय तहका जनप्रतिनिधिले कार्यकाल सुरु गरेको १०० दिन बितिसकेको छ ।

स्थानीय तहको निर्वाचन २०७९ पछि देशभरका पालिकाहरू अहिले एउटा गतिमा छन् । तर अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भने कुनै उपलब्धिमूलक गतिविधि देखिएको छैन ।

पाणिनी गाउँपालिकामा हालसम्म पनि बजेट पास हुन सकेको छैन । नियम बमोजिम असार भित्र बजेट पास भएर श्रावण देखि कार्यान्वयनमा जानू पर्ने भएपनी अझै सम्म पनि पास हुन सकेको छैन ।

बजेट पास नहुँदा नीति तथा कार्यक्रम लागू हुने त कुरै भएन, पालिका अन्तर्गतका अन्य प्रशासनिक कार्यमा समेत प्रभाव पर्न थालेको छ । बजेट पास नहुँदा पाणिनीमा नीति तथा कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन् । बजेट पास हुन नसक्दा कृषि शाखाले आवश्यक मल, विषादी, बीउ र बिरुवा खरिद गर्न सकिरहेको छैन भने, स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिदमा पनि समस्या छ । यस्तै स्वास्थ्य संस्थामा गर्भवती हुने महिलाहरूले पाउने शुल्क समेत भुक्तानीमा असर पुगेको छ । 

असार १० गते पास भएको नीति तथा कार्यक्रम र प्रस्तुत भएको बजेट बमोजिम ८ वटा वडालाई ६५/६५ लाख बराबरको सिलिङ वितरण गरिएको थियो । बजेटको एजेन्डामा कैयौँ कार्यपालिका बैठक बसिसकेका छन् तर अनेक विवादले गर्दा बजेट पास हुन सकेको छैन ।

८ वटा वडा रहेको पाणिनीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ जना वडा अध्यक्ष एमालेबाट निर्वाचित छन् भने ४ वटा वडा अध्यक्ष काँग्रेसबाट निर्वाचित छन् । कार्यपालिकामा काँग्रेसको बहुमत छ भने गाउँसभामा पनि कांग्रेस कै बहुमत छ । बजेट पासको सन्दर्भमा एक अर्कालाई पहल नै नगरेको आरो प्रत्यारोप मै जनप्रतिनिधि रुमलिएका छन् । दलीय खिचातानीले पालीकाका सम्पुर्ण क्रियाकलाप प्रभावित बनेका छन् ।

चाडवाड नजिकिँदै गर्दा पाणिनीमा स्थानीय सरकारले तलब खुवाउने करारका कर्मचारीहरूको पनि तलब रोकिने लगभग निश्चित छ ।

पाणिनी गाउँपालिकाका २ वटा एम्बुलेन्स सञ्चालन विहीन अवस्थामा छन् । एम्बुलेन्स सञ्चालन नहुनुको एउटा कारण बजेट पास नहुनु पनि हो भने कार्यपालिकामा सहमति नहुने मुख्य कारण हो । एम्बुलेन्स सञ्चालनको एजेण्डले प्रत्येक कार्यपालिका बैठकमा प्रवेश पाउँछ तर निकास लिँदैन । 

ड्राइभर पुरानै राख्ने कि नयाँ राख्ने भन्नेबारे सहमति नहुँदा एम्बुलेन्स सञ्चालनमा छैनन् । बिरामी पर्दा स्ट्रेचर वा ढाडमा बोकेर स्वास्थ्य संस्थामा लैजानुपर्ने बाध्यता कायमै रहेको छ । यी र यस्तै समस्यामा जनप्रतिनिधि अल्झिरहे विकास र समृद्धिमा पाणिनी गाउँपालिका धेरै पछि रहने निश्चित छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button