तपाईँ सुन्दै हुनुहुन्छः

तयार भयो सुविधा सम्पन्न सामुदायिक अस्पताल 

सोलुखुम्बु । सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका–६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल निर्माण कार्य सम्पन्न भएको छ । 

दुर्गम गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने व्यक्तिहरूबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शय्याको अस्पताल निर्माणको काम थालिएको थियो ।

विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण सम्पन्न ५० शय्याको सुविधा सम्पन्न अस्पताल रौता कुवर जेभी निर्माण कम्पनीले १० करोड १० लाख ७२ हजार ७५३ रुपैयाँमा तयार भएको अस्पतालको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोको उपस्थितिमा हुने भएको छ । 

थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले गाउँमै राजधानी सरहकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौँतारिनु नपर्ने बताउनुभयो । 

उहाँले अस्पतालबाट प्रसूति लगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने गाउँपालिका बताउनुभयो । मातृ शिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश नंं. १ कै सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका अध्यक्ष राईले अस्पताल बन्दैन र बनेपनि व्यवस्थित सञ्चालन हुन सक्दैन भन्नेहरूलाई कामले जवाफ दिएको बताउनुभयो । सबैको सहभागितामा सामुदायिक अस्पताल बनाउने र ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य पूरा भएको उहाँले बताउनुभयो । 

अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग पनि सहकार्यको सम्झौता भएको छ । दिगो सञ्चालन, विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह लगायतका विषयमा सहकार्य हुने जनाइएको छ । 

दुर्गम गाउँमा अस्पताल नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने तथा लाखौँ ऋण काडेर हेलिकोप्टरमा बिरामी अस्पताल लैजानु पर्दाको पीडादायी अवस्थामा कमी आउने छ । अस्पताल निर्माणसँगै व्यवस्थापन र दिगो सञ्चालनमा ध्यान दिनुपर्ने स्थानीयको भनाई छ । 

अस्पताल निर्माणको लागि मोहन राई, पविमाया राई, भिम बहादुर राई, ललितबहादुर राई, जोरमान राई, हरिसिहं राई, सौरभ किराँती र हेमन्तकुमार राईले साढे २३ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button