तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा असोज १० बाट दशैंं बजार लाग्ने

जनकपुरधाम । प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरधामको गोपाल धर्मशालामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा दसैँ बजार ( सस्तो बजार ) लाग्ने भएको छ ।

दसैँ बजारको विषयमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घले आज जनकपुरधाममा आयोजना गरेको छलफलमा अगामी असोज १० गते घटस्थापनादेखि १७ गते महाअष्टमीसम्म गोपाल धर्मशालामा बजार लगाउने निर्णय भएको छ ।

दसैँ बजार व्यवस्थापन मूल समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको बैठकमा विभिन्न उपसमितिहरूको निर्माण गरिएको छ ।

दसैँ, दीपावली तथा छठ पर्वमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्न सहितका दैनिक उपभोग्य सामानहरू बिक्री गर्ने निर्णय पनि बैठकले गरेको छ ।

गत वर्ष दसैँ बजारमा १ सय ६ वटा स्टल रहेका थिए । यस वर्ष पनि सोही सङ्ख्यामा स्टलहरू निर्माण गर्ने पक्षमा जनकपुरधाम उद्योग वाणिज्य संघ रहेको अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button