तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश खोप सुनिश्चितता घोषणा

दाङ । लुम्बिनी प्रदेशलाई खोप सुनिश्चितता घोषणा गरिएको छ । शुक्रबार प्रदेश स्थायी मुकाम राप्ती गाउँपालिकामा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।  

स्वास्थ्य तथा जनसङ्ख्या परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको अध्यक्षता एवं प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय खोप समन्वय समितिबाट अनुमित लिएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । 

घोषणासभामा प्रदेश प्रमुख अमिक शेरचनले स्थानीय तह र सरोकारवालाहरूको अपनत्व र सहभागितामा प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा सम्भव भएको भन्दै खोप कार्यक्रमलाई शतप्रतिशत रुपमा सफल बनाउन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शेरचनले स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरेर बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिकाअनुसार खोप उपलब्ध गराइ रोग प्रतिरोधात्मक क्षमता बढाउन आग्रह गर्नुभयो । 

उहाँले खोप सुनिश्चितता गर्नका लागि महिला स्वयम सेविकाहरूको महत्त्वपूर्ण देन रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत चौधरीले लुम्बिनी प्रदेशभित्र मधेशका जिल्लामा खोप लगाउनका लागि अझै सचेतना नपुगेकाले सम्पूर्ण बालबालिकाहरूमा खोप पु¥याउनका लागि चुनौती थपेको बताउनुभयो । 

उहाँले १२ वटै जिल्लामा खोप सुनिश्चितताका लागि नागरिकस्तरमा सचेतना कार्यक्रम लैजाने बताउनुभयो । लुम्बिनी प्रदेशमा नब्बे हजार बालबालिका रहेका छन् । १५ महिनाभित्रका ६६ हजार चार सय ६४ जना बालबालिकाहरूलाई पूर्ण खोप दिइएको छ ।  १५देखि २३ महिनाभित्रका दुई हजार २५ जना बालबालिकाहरूलाई अभियानका क्रममा खोप दिइएको थियो ।  

सातवटा प्रदेशमध्ये  पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लुम्बिनी प्रदेश दोस्रो हो । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये पाल्पा जिल्लालाई २०७० सालमै पहिलो जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष माघदेखि चैत महिनासम्म पूर्ण खोप लगाउन छुटका बालबालिकाहरूलाई खोप लगाइने गरिएको छ । 

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या परिवार कल्याण मन्त्रालयका स्वास्थ्य निर्देशक डा विनोद गिरीका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार बिसीजी एक, रोटा दुई, पोलियो तीन,  एफ आई पी भी दुई, पिसिभि तीन, डिपिटि हेप बी–हिब तीन र जेई एक मात्रा, टाइफाइड एक, दादुरा रुबेला एक मात्रा खोप लगाएका बालबालिकाहरूलाई पूर्ण खोप मानिन्छ । कार्यक्रममा १२ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणामा सहयोग पुर्‍याएको भन्दै प्रदेश प्रमुख अमिक शेरचनले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरी, राप्ती गाउँपालिकाका प्रमुख प्रकाश विष्ट लगायतका वक्ताहरूले बोल्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button