नेपाल र बङ्गलादेशको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीबीच फिफा डेमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
दशरथ रङ्गशालामा असोज ११ गते साँझ ५ः३० बजे नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने यसअघि नै तय भइरहेको छ ।
मैत्रीपूर्ण खेलका लागि एन्फाले झण्डै दुई महिनादेखि राष्ट्रिय टोलीको प्रशिक्षण गराइरहेको छ । सो खेलका लागि एन्फाले प्रदीप हुमागाईँलाई टोलीको कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
एन्फाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश शाहले बङ्गलादेश टोली मैत्रीपूर्ण खेलको चार दिन अघि असोज ७ गते नेपाल आइपुग्ने जानकारी दिनुभयो ।
नेपाल र बंगलादेशीच अहिले सम्म २३ खेल भएका छन् । जसमा नेपालले ७ खेल र बङ्गलादेशले १३ खेल जितेको छ । ३ खेल भने बराबरीमा भेट भएको छ । बङ्गलादेश सन् २००३ को साफ च्याम्पियन हो भने नेपाल पछिल्लो संस्करणमा फाइनल पुगेको थियो ।
तत्कालीन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादका कारण त्यतिबेला टोलीका नियमित खेलाडी मध्येका कप्तान किरण चेम्जोङ, रोहित चन्द, विमल घर्ती मगर, अन्जन विष्टलगायत ११ खेलाडी टोलीमा थिएनन् । यस पटक भने उनीहरूमध्ये कतिपय टोलीमा फर्केका छन् भने कति विदेश पुगेका छन् ।
नेपाल र बंगलादेशबीच २०७७ को चैतमा दशरथ रङ्गशालामा थ्री नेसन्स कपको फाइनल भएको थियो । जसमा नेपाली टोली २–१ ले विजयी भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्