सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरूलाई लालपूर्जा वितरण
सप्तरी । राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम तीव्र पारिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपूर्जा वितरण गर्नुभयो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले स्थानीय तहले उर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनिएको भन्दै तत्काललाई फाइदा भएको देखिए पनि त्यसले दिगो रुपमा ठूलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मूल्याङ्कन गरी कृषियोग्य भूमिको संरक्षण गर्न आग्रह गर्नुभयो ।
उहाँले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्षभित्र भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने गरी अगाडी बढेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन सुरु भइसकेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्