माओवादी अध्यक्ष दाहाल र अध्यक्ष ली चान्शुबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले लीको भ्रमणप्रति खुशी व्यक्त गर्नुभयो । अध्यक्ष लीको नेपाल भ्रमण चिनिया नेशनल कङ्ग्रेसको अध्यक्षको हिसाबले पहिलो विदेश भ्रमण भएकोले यो भ्रमणले नेपाल चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सिं जिन पिङको सन् २०१९ को नेपाल भ्रमणको स्मरण गर्नुहुँदै नेपाल चीन सम्बन्धको सबै पक्षको प्रशंसा गर्नुभयो ।
अध्यक्ष लीले आफ्नो भ्रमण कोभिड –१९ पश्चात् पहिलो विदेश भ्रमण रहेको बताउनुहुँदै नेपाल चीनको आपसी मित्रता सम्बन्ध मित्रता र सहकार्य आगामी दिनमा अझ बलियो हुने बताउनुभयो ।
भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।
यसअघि आजै ली ले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुभएकाे थियो । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहनुभएका लीले आज दिउसो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का सँगसमेत भेटवार्ता गर्नु हुनेछ । लीले भोलि बुधबार अपराह्न साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु हुनेछ ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार अध्यक्ष ली सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत छ ।
प्रतिक्रिया राख्नुहोस्