तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सहमति नजिक

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको आज बसेको बैठक सहमति नजिक पुगेपनि केही सिटमा थप छलफल गर्नुपर्ने आवश्यकता रहेकाले आजको बैठकमा टुङ्गो लाग्न सकेन । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज दिनभर सहमतिको प्रयास भएपनि केही सिटमा दोहोरो–तेहेरो दाबी परेकाले थप छलफल गर्नुपर्ने कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

एउटै सिटमा २/३ पक्षले दाबी गरेको हुँदा त्यसको समाधानका लागि बैठकमा शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भइरहेको र अन्त्यमा सबै लचिलो हुनुको विकल्प नरहेको मन्त्री कार्कीले बताउनुभयो । 

सत्तारुढ गठबन्धन दलबीच सिट बाँडफाँडको टुङ्गो लगाउन कार्यदल गठन गरिएकोमा कार्यदलले सम्पूर्ण विषय टुङ्ग्याउन नसकेपछि शीर्ष नेताहरूलाई कार्यदलको प्रतिवेदन सहित समाधानका लागि जिम्मा लगाएको हो । 

त्यसपछि गठबन्धन दलहरुबीच सिट सङ्ख्याको टुङ्गो लगाउन निरन्तर रुपमा शीर्ष नेताहरूको बैठक बस्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button