“द पोइट आइडल” सञ्चालन हुँदै
काठमाडौँ । नेपालमा पहिलो पटक “द पोइट आइडल” सञ्चालन हुन लागेको छ ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरी “द पोइट आइडल” का क्रिएटर तथा डिरेक्टर अमन प्रताप अधिकारीले नेपालमा पहिलो पटक द पोइट आइडल हुन लागेको अधिकारी घोषणा गर्नुभएको हो । द पोइट आइडका क्रिएटर तथा डिरेक्टर अधिकारीले विगत ५ बर्ष देखि यस कार्यक्रमको परिकल्पना गरी रहेको बताउनुभयो ।
नेपालका एक बहुप्रतिभाशाली साहित्यकार एवम् गीतकार क्षेत्र प्रताप अधिकारीको नेपाली गीति साहित्यमा ठूलो योगदान भएको साथै जापानी साहित्यका सबैभन्दा धेरै कृतिहरू नेपाली भाषामा अनुवाद गर्ने अनुवादक पनि उहाँ नै हुनुहुन्थ्यो ।
उहाँको जापानी शैलीको घर थियो । सफा बगैँचा थियो । भोड्का चुस्की लाउँदै बगैँचा खनीखोस्री गरी बस्नुहुन्थ्यो । उहाँले कलेज खोल्नु भएको थियो, त्यसमा पनि समय दिनुहुन्थ्यो ।
उहाँले आफ्नो शेषपछि शरीर दान गर्न चाहनुभएको थियो, तर, त्यसका लागि कानूनी व्यवधानहरू थिए । उहाँले लडेर शरीर दान दिने निर्णय गराउन सफल हुनुभएको थियो । नेपालमा शरीर दान दिने सम्भवतः उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । आज उहाँ हामी बिच नभए पनि उहाँले नेपाली साहित्यलाई दिएको अतुलनीय योगदानलाई जीवन्त राख्नुका साथै स्थायित्व प्रदान गर्ने उद्देश्यका साथ उहाँका छोरा अमन प्रताप अधिकारीले द पोइट आइडलको परिकल्पना गर्नुभएको हो ।
जसमा साहित्यलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ । उक्त कार्यक्रममा फरक क्षमताको नाप र तौल गरिने छ भने आफ्नो कवितालाई मौलिक रुपमा वाचन गर्ने शैलीलाई पनि प्रोत्साहन गरिएको छ । यस कार्यक्रममा सहभागी हुनका लागि अनलाइन आवेदनको व्यवस्था गरिएको छ । कार्यक्रम प्रतिस्पर्धी भएको हुनाले प्रतियोगीहरू छनोट प्रक्रिया सकिए पछि प्रतियोगीहरूलाई विषय प्रदान गरिने छ ।
प्रतियोगीहरूको पहिलो भेट क्रिएटिभ टिम सँग हुनेछ । कार्यक्रमको विभिन्न चुनौतीहरूलाई पार गर्दै अन्त्यमा भोटिङ मार्फत एक जना विजयी घोषित हुनेछन् । यस कार्यक्रममा निर्णायक मण्डलमा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त हुनुहुन्छ भने कार्यक्रमको निर्देशक अमन प्रताप अधिकारीले गर्नु हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्