तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरले फोहर उठाउने जिम्मा निजी क्षेत्रलाई दिँदै

दाङ । तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रको फोहर उठाउनका लागि निजी क्षेत्रलाई जिम्मेवारी दिने तयारी सुरु गरेको छ । उपमहानगरले आफैले फोहर सङ्कलन तथा व्यवस्थापन गर्दै आएकोमा निजी क्षेत्रलाई जिम्मेवारी दिने गरी तयारी सुरु गरेको हो ।

उपमहानगरले चालु आर्थिक वर्षमै सार्वजनिक निजी साझेदारीमा फोहरमैला व्यवस्थापन अन्तर्गत उपमहानगरले निजी क्षेत्रलाई फोहर उठाउने जिम्मा दिन लागेको जनाएको छ । तुलसीपुर बजार क्षेत्रको फोहर उठाउन र त्यसको व्यवस्थापन गर्नलाई उपमहानगरले सार्वजनिक निजी साझेदारीमा फोहरमैला व्यवस्थापन अन्तर्गत निजी क्षेत्रलाई दिने तयारी गरेको हो ।

यसका लागि उपमहानगरले नीजि क्षेत्रबाट गएको जेठ महिनामै प्रस्ताव मागेको छ । उपमहानगरमा प्राप्त भएका तीन वटा प्रस्तावको अहिले अध्ययन तथा मूल्याङ्कनको काम भइरहेको छ ।

उपमहानगरले प्राप्त भएका प्रस्तावको पहिलो चरणको मूल्याङ्कनको काम र दोस्रो चरणमा आर्थिक पक्षलाई अध्ययन गरेर उत्कृष्ट प्रस्तावलाई कार्यपालिका मार्फत् स्वीकृत गरेर चालु आर्थिक वर्षमै जिम्मेवारी दिने गरी काम भइरहेको जनाइएको छ । प्रस्तावमाथिको मूल्याङ्कन भइरहेको र आर्थिक क्षेत्रको प्रस्ताव खोल्न बाँकी रहेको शाखाले जनाएको छ ।

शहरोन्मुख क्षेत्रका रुपमा विकास भएका स्थानीय सरकारलाई फोहर व्यवस्थापन गर्न निकै टाउको दुखाईको विषय बनेको छ । यसको अन्त्यका लागि तुलसीपुरले निजी क्षेत्रलाई जिम्मेवारी दिने तयारी गरेको हो ।

बजार क्षेत्रको फोहर व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई दिँदा उपमहानगर झन्झट मुक्त हुने शाखा प्रमुख माधव पौडेलले जानकारी दिनुभयो । फोहर व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई दिँदा उपमहानगरले नीतिगत निर्णय, राजश्व निर्धारण, विवादको सहजीकरण र सचेतनाका कार्यक्रम गर्ने छ ।

यस्तै नीजि क्षेत्रले फोहर उठाउने, संरचना निर्माण गर्ने, फोहरबाट हुने आम्दानी समेत सम्बन्धित कम्पनीले लिने छ । बजार क्षेत्रको फोहर व्यवस्थापन गर्दा निज क्षेत्रले कर्मचारी, सवारीका साधन, फ्युल खर्चको व्यवस्था स्वयम आफैले गर्ने छ । निजी क्षेत्रले यसबाट प्राप्त हुने फाइदा समेत आफैले लिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button