तपाईँ सुन्दै हुनुहुन्छः

स्थायी राजधानी निर्माणका लागि संघीय सरकारसँग थप बजेट माग

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी निर्माणका लागि संघीय सरकारसँग थप बजेट माग गर्ने निर्णय गरेको छ ।

भदौ २६ गते मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको पहिलो  गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणको कामलाई बजेटको अभाव हुन नदिन संघीय सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको हो । बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृ निकायहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग आवश्यक स्रोत व्यवस्थापन गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्रदेशका विपद्जन्य घटनाबाट क्षतिग्रस्त उद्योगलाई सहयोग तथा राहत प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्ने गरेको बताउनुभयो । यस्तै बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजना, कार्यान्वयन इकाई सञ्चालनका लागि अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

सरकारले रोल्पामा रहेको तिला जनयुद्ध सङ्ग्रहालय विकास समितिको सदस्यमा कृष्णकुमार नेपाली, रोल्पा,  लालसरी घर्तीमगर रोल्पा, मानबहादुर पुन, रोल्पालाई मनोनीत गरेको प्रवक्ता शर्माले बताउनुभएको  छ । यस्तै चुनवाङ्ग शान्ति  सङ्ग्रहालय विकास समितिमा सदस्यमा टिकाबहादुर उपाध्याय रुकुम पूर्व, ललिता बुढा रुकुमपूर्व, टेकबहादुर बुढा रुकुमपूर्वलाई मनोनीत गरेको छ ।

प्रवक्ता शर्माले उच्च शिक्षामा मुक्तकमैया, कम्लहरी, मुस्लिम र सीमान्तकृत छात्रवृत्ति विवरण कार्यविधि, २०७९ स्वीकृत गर्ने र डा. विष्णु गौतम (एघारौँ तह) लाई पाल्पा अस्पताल, तानसेनमा कामकाज खटाउने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button