तपाईँ सुन्दै हुनुहुन्छः

म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन सकिने

काठमाडौँ । नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । 

नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो । 

प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गर्न भनेको छ । सरकारले यस पटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ । 

नेपाली नागरिकले म्यादी प्रहरीका लागि मङ्सिर ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्नेछ । 

भर्नाका लागि नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाती ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ । 

प्रहरीका अनुसार आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ । यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि  शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button