बङ्गलादेशद्वारा पाकिस्तान पराजित
काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाइन् ।
त्यस्तै खेलको २८ औँ मिनेटमा शोप्नाले गोल गर्दा बङ्गलादेश २–० ले अघि रह्यो । त्यसपछि खेलको ३१ औँ मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन । यसैगरी खेलको ३५ औँ मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बङ्गलादेश ४–० ले अघि रह्यो । खेलको ५९ औँ मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
त्यसपछि खेलको ७७ औँ मिनेटमा रितुले गोल गर्दै बङ्गलादेशलाई ६–० को जित दिलाइन् । बङ्गलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० ले हराएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो ।
यस जितसँगै समूह ‘ए’ मा रहेको बङ्गलादेशले ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान दुई खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेको छ ।
रासस
प्रतिक्रिया राख्नुहोस्