पाँचथरमा आत्महानी गर्नेको सङ्ख्या घट्दै
पाँचथर । विगतका वर्षहरूमा भन्दा यो वर्ष पाँचथरमा आत्महत्या गर्नेहरूको सङ्ख्यामा कमी आएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष २०७६/७७ देखी हालसम्म १ सय ७७ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा पुरुष २९ र महिला २५ गरी ५४ जना, आर्थिक वर्ष २०७७/७८ मा पुरुष ४१ र महिला १७ गरी ५८ जना, आर्थिक वर्ष २०७८/७९ मा पुरुष ३५ र महिला २१ गरी ५६ जना र चालु आर्थिक वर्षमा पुरुष ३ र महिला ६ गरी ९ जनाले आत्महत्या गरेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा आत्महत्याको घटनामा ३.५ प्रतिशतले कमी आएको देखिएको हो । गत आर्थिक वर्षमा सबै भन्दा कम तु्म्वेवा गाउँपालिकामा २ प्रतिशत र सबै भन्दा बढी फिदिम नगरपालिकामा ३० प्रतिशत आत्महत्याका घटना भएका छन् । आत्महत्या झुन्डिएर र विष सेवन गरेर गर्ने गरेको पाइएको छ । चार वटै आर्थिक वर्षमा सबै भन्दा बढी झुन्डिएर आत्महत्या गरेको पाइएको छ ।
तथ्याङ्कले जिल्लामा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको पाइएको छ । पछिल्लो चार वर्षमा ६९ महिलाले आत्महत्या गरेका छन् भने यो समयमा १०८ जना पुरुषले आत्महत्या गरेका छन् ।
आत्महत्याका घटनाहरूलाई विश्लेषण गर्दा सबै भन्दा बढी १८ देखी ४५ वर्ष उमेर समूहका व्यक्तिहरूले गरेको पाइएको छ । आत्महत्या गर्ने १ सय ७७ मध्ये १ सय ३० जना यस उमेर समूहका रहेका छन् । यस्तै ४६ देखी ६० वर्ष उमेर सम्मका २९ जना र ६० वर्ष भन्दा माथि उमेरका १८ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्ने व्यक्तिहरू सबै भन्दा धेरै साधारण लेखपढ मात्रै गर्न जानेकाले गरेको पाइएको छ । त्यसपछि शैक्षिक योग्यता कक्षा १० सम्म भएका व्यक्तिहरू दोस्रो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ । यस बाट के प्रस्ट हुन्छ भने कम शैक्षिक योग्यता भएका व्यक्तिहरूको चेतना कम हुने भएकाले छिट्टै आत्महत्याको बाटो रोज्ने गर्छन् ।
पाँचथरमा सबै भन्दा बढी घरयासी समस्याको कारण आत्महत्या हुने गरेको पाइएको छ । यस बाहेक मानसिक विचलन, प्रेम सम्बन्ध जस्ता कारण पनि आत्महत्याका कारण हुन सक्ने पाइएको छ । यद्यपि अनुसन्धानबाट पनि धेरै आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सामाजिक अभियन्ता प्रेम ओझाका अनुसार समाजमा बाँचिरहनेको लागी सहयोगी तत्त्वको अभाव, पारिवारिक मायाको कमी, डिप्रेसन, लिएको लक्ष्य पुरा नहुनु, आर्थिक असफलता, मादक पदार्थ तथा लागू पदार्थ सेवन, याैन तथा घरेलु हिंसा, सामाजिक सञ्जालको दुरुपयोग, इन्टरनेटमा आएका नकारात्मक सामाग्री, पारिवारिक द्वन्द्व जस्ता कारणले आत्महत्या गर्नेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । यी कारणहरू बाट बच्न सकेमा र सामाजिक मन विमर्शलाई सरकारले प्राथमिकतामा राखेर जनचेतानात्मक कार्यक्रमहरू सञ्चालन गर्न सकेमा आत्महत्या न्युनिकरण हुनसक्ने अभियन्ता ओझाको भनाई छ ।
जब व्यक्तिले आत्महत्या गर्ने अठोट गर्दछ तब उसलाई बचाउन सकिदैंन भन्ने अवधारणा पनि समाजमा प्रचलित छ । तर यो अवधारणा अत्यन्तै गलत हो । उचित ध्यान तथा उपचार गरेको खण्डमा धेरै आत्महत्यालाई रोक्न सकिन्छ ।
समग्रमा भन्नुपर्दा, नेपालकालागि आत्महत्या एउटा गम्भीर जनस्वास्थ्य समस्याका रुपमा देखिएको छ । यसका लागी जनचेतना बढाउनु, लाञ्छना कम गर्नु र समस्यामा परेका बिरामीलाई उचित सेवा प्रदान गर्नु अति आवश्यक देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्