साफ यु–१७ च्याम्पियनसिप फुटबल: नेपालद्वारा भारत पराजित
काठमाडौँ । नेपालले श्रीलङ्कामा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ ।
कोलम्बोको रेस कोर्स ग्राउन्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।
नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो ।
खेलको २५ औँ मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औँ मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफमा नेपालले दुई गोल गर्यो । खेलको ४९ औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६८ औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए । यस जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ ।
नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत २ खेलमा ३ अङ्क जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३–० ले हराएको थियो । दुवै खेलमा हार व्यहोरेको भुटान बाहिरिइसकेको छ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्