तपाईँ सुन्दै हुनुहुन्छः

जनताको सहभागिता नभएको विकास सफल हुन्न: मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । 

ललितपुर महानगर–२२, महर्जन समाजको २५ औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।” 

आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्त्वपूर्ण पहल गरेको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताउनुभयो । नख्खु कोरिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  
बुङ्मतीका कला, संस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री जीवनराम खड्काले महर्जन समाजले आगामी दिनमा यहाँको समाज रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button