थुलुङ दूधकोशीमा सडक कालोपत्रे हुँदै
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको नेलेदेखि दूधकोशी सामुदायिक अस्पताल सम्मको सडक कालोपत्रे हुने भएको छ ।
नेले, चार घरे, पालिका केन्द्र, बैङ्क हुँदै दूधकोशी सामुदायिक अस्पतालसम्म साढे १२ किलोमिटर सडक कालोपत्रे हुने गरी प्रदेशबाट बहुबर्षीय योजना स्वीकृत भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
कालोपत्रेका लागि प्रदेशले बहुवर्षीय योजना अन्तरगत ६१ करोड रुपियाँ स्वीकृत गरेको छ । स्वीकृत योजना आगामी पाँच वर्षभित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।
योजना अनुसार गाउँपालिकाको नेले बजारदेखि दुधकोशी सामुदायिक अस्पतालसम्मको सडक कालोपत्रे हुने भएको छ । सडक कालोपत्रे हुने भएपछि खुशी हुँदै स्थानीय राजेन्द्र बस्नेतले वर्षायाममा हिलोका कारण यात्रा गर्न कठिन भइरहेको अवस्थामा कालोपत्रे भएपछि सहज हुने बताउनुभयो ।
गाउँपालिकाका लागि यो उपलब्धि भएको र यसले गाउँपालिको विकासका लागि थप सहज हुने तथा अस्पतालसम्म बिरामीलाई सहज आवागमन हुने अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईले योजना स्वीकृत भएकोमा थुलुङ दूधकोसी गाउँपालिकाको जनताहरूको तर्फबाट प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो धन्यवाद दिनुभएको छ ।
महायज्ञ लगाएर सुविधा सम्पन्न अस्पताल निर्माण गरिसक्नु भएका जिल्लाकै कान्छो राईले गाउँपालिकाको अन्य क्षेत्रमा पनि धेरै उपलब्धिमूलक काम गरेको स्थानीय बताउँछन् ।
उहाँले पहिलो कार्यकालमा राम्रो काम गरेकाले हाल दोस्रो कार्यकालका लागि सहजै निर्वाचन जितेको पालिकाबासीको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्