४८ हजारभन्दा बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र
काठमाडौँ । नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पुर्जा वितरणको कामलाई तीव्रता दिएको छ ।
भूमिको स्वामित्वलाई राज्यले मौलिक हकको रुपमा परिभाषित गरेको सन्दर्भमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले योजनाबद्ध रुपमा ‘कोही पनि नछुटुन् कोही पनि नदोहोरिउन्’ भन्ने नाराका साथ सुकुम्वासीलाई जग्गा धनी बनाउने कामलाई अभियानका रुपमा अगाडि बढाएको हो ।
यसका लागि राष्ट्रिय भूमि आयोगले आगामी दिनमा सुकुम्बासीको समस्या नै नरहने गरी कामलाई तीव्रता दिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।
कित्ता नापी नाप नक्सा गर्ने कार्य अन्तर्गत विशेष नापीमा कुल १३ हजार पाँच सय ९६ हेक्टरको काम सम्पन्न भएको छ । हेक्टर, गाँउब्लक नापी तीन सय आठ हेक्टर, नापी एक हजार नौ सय १० हेक्टर गरी कूल १५ हजार सात सय ४८ हेक्टर नाप नक्सा सम्पन्न भएको छ । गाँउब्लक, विशेष नापी र पुनः नापी गरी जम्मा ४८ हजार चार सय ७० घरपरिवारलाई हालसम्म जग्गाधनी पुर्जा वितरण भइसकेको उहाँको भनाइ छ ।
गाउँ ब्लकको रुपमा रहेको जग्गालाई नापनक्शा गरी लामो समयदेखि हक भोग भएपनि जग्गाधनी प्रमाण पुर्जा पाउन नसकेको नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने कार्यलाई पनि युद्ध स्तरमा अगाडि बढाइएको छ । यसले देशभर रहेको गाउँ ब्लकको समस्या समाधान हुने सरकारको विश्वास छ ।
आयोगले सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अधिकांश स्थानीय तहसँग सम्झौता गरिसकेको छ । केही स्थानीय तहमा भने अनेकन समस्या देखाएर समस्या समाधान गर्ने सरकारको पवित्र उद्देश्यलाई कार्यान्वयनमा व्यवधान खडा गर्ने प्रयास भएको मन्त्रालयको बुझाइ छ ।
“केही स्थानीय तहमा भने राजनीतिक पूर्वाग्रह राखेको पाइएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काममा व्यवधान खडा गरिए जो प्रभावित हो उनैले सङ्घर्ष गर्नुपर्ने अवस्था पनि आउन सक्छ ” उहाँले भन्नुभयो “ यसमा कुनै राजनीतिक पूर्वाग्रह नराखौँ । यो देशको समस्या हो , समाधानका लागि सबैको साथ र सहयोग जरुरी रहन्छ ।”
आयोगले लगत सङ्कलन, कम्प्युटरमा तथ्याङ्क प्रविष्ट, जग्गाको नापजाँचको काम र निस्सा वितरण कार्य एकै साथ गरिरहेको छ । चितवनको भरतपुर, सिन्धुलीको दुधौली नगरपालिकामा रहेको मुसहर बस्ती, मकवानपुरको बाग्मती गाउँपालिका, झापाको गौरादह ४ र ५, महारानी झोडा, सुर्खेतको भेरी गंगा र गुर्वाकोट र कैलालीको धनगढी ९ मा तीन सय आठ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरण भइसकेको छ ।
त्यस्तै, कैलालीको लम्कीचुहाको बादी बस्तीमा एक सय २४ भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइसकिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । समग्रमा छ सय ६८ भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण भएको छ ।
कूल छ सय २४ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्यका साथ कार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । पाँच सय ५७ स्थानीय तहमा सूचना प्रकाशित भइसकेको छ भने ७० स्थानीय तहमा नापनक्शाको काम सुरु भएको छ ।
मन्त्री श्रेष्ठका अनुसार आयोगको सूचना प्रणालीमा पाँच लाख ८९ हजार ९४ भूमिहीनको लगत प्रविष्ट भइसकेको छ । सरकारले चालु आवमा नै भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनीले लामो समयदेखि भोग्नु परेको समस्या समाधानका लागि नीति तथा कार्यक्रम, बजेटको प्रबन्ध गरेको छ ।
सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई देखाएर ‘केवल भोटको राजनीति गर्ने’ प्रवृत्तिलाई सधैँको लागि अन्त्य गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
यस्तै, पुनः स्थापना हुन बाँकी कमैया, कम्लहरी तथा हरुवा चरुवाको पुनः स्थापनाको लागि कार्ययोजना तयार भई सो को कार्यान्वयनका लागि कार्यविधि पनि तयार भइसकेको छ । भूमि र यससँग जोडिएको विषयसँग लामो समयदेखि अध्ययन गरिरहेका, ज्ञान सीप तथा विशेषज्ञता हासिल गरेका विज्ञको रोष्टर तयार पारी राय परामर्श लिइएको र त्यसबाट दीर्घकालदेखि रहँदै आएको समस्या समाधानमा सहयोग पुग्ने सरकारको विश्वास छ । रासस
प्रतिक्रिया राख्नुहोस्