महामारीमा पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार: राज्यमन्त्री केसी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले कोरोना महामारीका बीच पनि नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

भुटानमा विश्व स्वास्थ्य सङ्गठन क्षेत्रीय समितिको दक्षिण पूर्व एसियाको ७५ औँ अधिवेशनमा उहाँले सम्बोधन क्रममा बहुजोखिमका जनस्वास्थ्यका आकस्मिक अवस्थालाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मेहनत गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालले दादुरा रुबेला तथा औलो रोगको निवारणको लक्ष्य प्राप्तितर्फ उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै स्वास्थ्य क्षेत्रको मानव स्रोत, स्वास्थ्य क्षेत्रको वित्तीयकरण, नसर्ने रोगका लागि बहुक्षेत्रीय कार्ययोजना लगायत नीतिगत सुधारका कदम समेत चालेको उल्लेख गर्नुभयो ।
उहाँले सन् २०२१ मा कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागू गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रमध्ये नेपाल पर्न सफल भएको समेत बताउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री केसी बिहीबार स्वदेश फर्कनु हुनेछ ।
रासस
प्रतिक्रिया राख्नुहोस्