राँके–रबि–भेडेटार सडकको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन एमालेको माग
पाँचथर । नेकपा (एमाले) पाँचथरले बहुप्रतिक्षित राँके–रबि–भेडेटार सडकको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेको छ ।
फिदिममा सम्पन्न भएको एमाले पाँचथर जिल्ला कमिटीको छैटौँ बैठकले उक्त सडक निर्माण गरिरहेको भारतीय कम्पनीको कार्यसम्पादन विश्वासयोग्य नरहेका कारण ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेको हो । बैठकपछि अध्यक्ष राजकुमार भण्डारीले जारी गर्नुभएको सार्वजनिक महत्त्वको प्रस्तावमा उक्त ठेक्का अविलम्ब तोडेर नयाँ ठेक्का लगाउन माग गरिएको छ ।
नेपालीका मुख्य चाडपर्वहरू नजिकिएका सन्दर्भमा यस सडकमा सवारीका साधन सञ्चालन हुनसक्ने अवस्था नरहेको भन्दै एमाले पाँचथरले आवश्यक बजेटको व्यवस्था गरी बाटो मर्मत गरेर यातायात आवागमन सहज बनाउन सरकारलाई आग्रह गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७५ साल पुसमा उक्त सडक कालोपत्रे निर्माणको शिलान्यास भएको थियो । भारतीय निर्माण कम्पनीको लापरवाहीले काममा उल्लेख्य प्रगति हुन नसकेपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहित विभागीय टोलीले २ पटक अनुगमन गरी ठेकेदारलाई छिटो काम सक्न निर्देशन दिएपनि काम सन्तोषजनक रुपमा अघि बढ्न नसकेको एमालेको प्रष्टीकरण छ ।
अनुगमन र निर्देशनपछि पनि काम अघि बढ्न नसकेपछि ठेक्का रद्द गर्ने लिखित निर्देशन दिइएको एमाले पाँचथरले जनाएको छ । तीन वर्षको म्याद पूरा भएपछि वर्तमान सरकारले २०७९ पुससम्मका लागि म्याद थप गरेको छ । ठेक्काको अवधि समाप्त भइसकेको अवस्थामा म्याद नथपी ठेक्का रद्द गर्नुपर्ने विषयमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्वाङले संसदबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै विषयगत मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समेत सरकार गैरजिम्मेवार बनेको एमालेको भनाई छ ।
भारतीय एक्जिम बैङ्कको ऋण लगानीमा पाँचथर, इलाम र धनकुटा जोड्न उक्त सडक निर्माण भइरहेको छ । करिब १०० किलोमिटरको उक्त सडक भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले निर्माण गरिरहेको छ ।
निर्माण कार्य अघि बढाउन आइपरेको नीतिगत अप्ठ्यारा, ठेक्का सम्झौतामा रहेका कठिन शर्तहरु तथा निर्माण कम्पनीको चरम लापरवाहीका कारण यो सडक निर्माण कार्यको प्रगति करिब १८ प्रतिशत मात्रै छ । सडक कालोपत्रे हुन नसक्नु र विगतमा ग्राभेल भएको सडक विस्तारका गरिएपछि हिलाम्य हुनाले यस क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्