प्रदेश सभाका सार्वजनिक लेखा समितिको प्रथम सम्मेलन बुटवलमा

रुपन्देही । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समिति ५ वर्षसम्म समितिमा रहेर आफूले गरेका कामको अनुभव, चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्न प्रथम सम्मेलन गर्न बुटवलमा जुटेका छन् । मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा ७ मध्ये ५ प्रदेशका सभापति र समितिका सचिवहरू सहभागी छन् ।
सम्मेलनमा समिति सभापतिहरूले लेखा समितिमा रहेर आफूले ५ वर्षसम्म गरेका क्रियाकलापहरूको प्रस्तुति गर्ने कार्यक्रम रहेको छ। जसमा आफ्नो प्रदेशको समितिबारे जानकारी, आफूले गरेका महत्त्वपूर्ण क्रियाकलाप, त्यस सम्बन्धका अध्ययन, खोजबिन, अनुगमन र अध्ययनका सफलता, सरकारी सहयोग, काममा चुनौती र समस्यालगायतका बारेमा प्रतिवेदन प्रस्तुत हुने आयोजक लुम्बिनी प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति विष्णुप्रसाद पन्थीले बताउनुभयो ।
लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिको आयोजना रहेको सम्मेलनमा युएनडिपीको संसद् सहयोग परियोजनाले सहकार्य गरेको छ ।
सार्वजनिक लेखा समिति जसमा सबै प्रदेशका प्रदेश सरकार र त्यस मातहतका निकायले गर्ने कामलाई आर्थिक, नीति र विधिगत रूपले सही ढङ्गबाट हिँडाउने, पारदर्शी र सुशासनबाहिर गएका क्रियाकलापको अनुगमन गर्ने र त्यसलाई सुधारका लागि सरकारलाई सुझाव दिने काम सार्वजनिक लेखा समितिले गर्छ ।
लेखा समितिलाई जति सक्रिय बनायो सरकारका काम त्यति पारदर्शी, फलदायी र जिम्मेवारीपूर्ण बन्न सक्ने भएकाले कार्यकालको अन्तिम समयमा भए पनि सम्मेलन आयोजना गरिएको प्रदेश १ को सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईंले बताउनुभयो । समितिलाई विषयवस्तु र आगामी क्रियाकलापबारेमा पूर्व प्रदेश सभा सचिव तथा संसदीय मामिला सचिव डा। मानबहादुर विश्वकर्माले सहजीकरण गर्नुहुनेछ । सम्मेलनले लुम्बिनी प्रतिबद्धता पत्र सार्वजनिक गर्नेछ।
प्रतिक्रिया राख्नुहोस्