तपाईँ सुन्दै हुनुहुन्छः

सय बढी अवैध संरचना भत्काइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ ।

कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो ।

आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैको ५० बढी अवैध संरचना भत्काइएको थियो । कामपाले यसअघि बानेश्वरमा रहेको बानेश्वर कम्प्लेक्समा निर्माण भएका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आर बि कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमा रहेको अल्ला बिटामा निर्माण विपरीत प्रयोग भएका संरचना भत्काएको छ ।

नक्सा अनुरुप निर्माण नभएको, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचना अवैध ठहर गर्दै कामपाले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काउने अठोट कामपाको छ ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको र ती सबैलाई कानुनी दायरामा ल्याउने कामपाले जनाएको छ ।

कामपाले यही भदौ ६ गतेदेखि अवैध रुपमा निर्माण भएका र निर्माण भए अनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुशरण गर्न थालेका छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button