तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले मानव बेचबिखनविरुद्ध नयाँ कानून बनाउँदै 

काठमाडौँ । सरकारले मानव बेचबिखनको अपराध नियन्त्रण गर्न नयाँ कानून बनाउन लागेको जनाएको छ । 

मानव बेचबिखनविरुद्धको १६ औँ राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले मौलाउँदै गएको मानव बेचबिखनको अपराध सरकारका लागि नै चुनौती बनेकाले त्यसलाई नियन्त्रण गर्न सरकार  मानव बेचबिखन विरुद्धको ऐनलाई संशोधन गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । 

नेपालमा संघीय शासन व्यवस्था लागु भएपछि घरदैलोमा स्थानीय सरकारले निगरानी गर्दा गर्दै पनि आर्थिक अभावका कारण कतिपय अभिभावकबाटै आफ्ना सन्तान बेचिने गरेको मन्त्री रेग्मीले बताउनुभयो । 

मन्त्री रेग्मीले सरकार एक्लैले मानव बेचबिखनको अपराधलाई नियन्त्रण गर्न नसक्ने भएकाले सबै सरोकारवालाहरूलाई एकजुट भएर लाग्न पनि आग्रह गर्नुभयो । 

त्यसैगरी, मानव बेचबिखन विरुद्धको अभियन्ता अनुराधा कोइरालाले गाउँदेखि शरहसम्म एजेन्टहरू लागेर महिलालाई विश्वका विभिन्न मुलुकमा बेच्ने गरेको बताउनुभयो । 

शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले पछिल्लो समय महिलाहरू मुलुकभित्रै बेचबिखनमा पर्न थालेकाले त्यसलाई रोक्न सचेतना अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडा, योजना आयोगका सदस्य सालोनी सिंह प्रधान, र वरिष्ठ पत्रकार कपिल काफ्लेले मानव बेचबिखनले विकराल रूप लिन थालेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

यस अवसरमा मानव बेचबिखन विरुद्धको अभियानकर्मी, पत्रकार तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button