नक्कली प्रहरी परिचय देखाएर नगद लुट्ने पक्राउ

चितवन । चितवनमा नक्कली प्रहरी परिचय पत्र देखाएर लुट्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विशाल पौडेल र विजय महत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ,चितवनका अनुसार उनीहरूले कालिका नगरपालिका वडा नम्बर ८ गैरीबारी स्थित सडकखण्डमा आइसक्रिम बिक्री गर्ने भारतीय नागरिक विरेन्द्र शाहलाई ना ३५ प ६५२० नम्बरको स्कुटरमा आई आफूहरू प्रहरी रहेको भनेर परिचय पत्र देखाएर धाक धम्की दिई नगद ५ हजार ४०० रुपैंया लुटेका थिए ।
लुटिएको खबर पाउने बित्तिकै पीडित शाहसँग समन्वय गरी उनीहरुलाई सोही दिन दिउसो साँढे १ बजे शक्तिखोरबाट जुटपानी तर्फ स्कुटरमा आउँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक विशाल पौडेल लेखिएको कार्ड र रकम सहित प्रहरीले बरामद गरेको हो ।
उनीहरुलाई डाँका सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्