तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिकहरूका समस्या र गुनासाहरूप्रति आफु गम्भीर : मन्त्री कुँवर

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसँग सम्बन्धित श्रमिकका गुनासहरु तत्काल सम्बोधन गर्ने गरेको बताउनुभएको छ ।  

मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा  ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको आइतबार दोस्रो अङ्कमा श्रमिकसँग प्रत्यक्ष फोनमा कुरा गर्नुहुँदै मन्त्री कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासाको तत्काल सुनुवाई भइरहेको बताउनुभएको हो ।

बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत देश र विदेशबाट गरी १० जना श्रमिकहरूले मन्त्री कुँवरलाई आफ्ना जिज्ञासा, गुनासा र समस्याहरू सुनाउनुभएको थियो । 

झापाबाट फोन गर्दै एक श्रमिकले कोरिया जानका लागि भाषा परीक्षा पास गरेर पनि जान नपाएको गुनासो मन्त्री कुँवरलाई सुनाउनुभएको थियो  । त्यस्तै साउदी र मलेसियाबाट फोन गर्दै श्रमिकहरूले कम्पनीले काम नदिएको र आफु बिरामी भएर अस्पतालमा उपचार गराइरहेको गुनासो मन्त्रीलाई सुनाउनुभयो । यी दुवै गुनासा बारे मन्त्री कुँवरले सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

कार्यक्रममा विष्णुदेव साहले फोन गर्दै गत वैशाख २ गते साउदीमा दुर्घटनामा परी सुरेन्द्र प्रसाद साहको मृत्यु भएको र उनको शव नेपाल ल्याउन पहल गरिदिन मन्त्री कुँवरलाई आग्रह गर्नुभएको छ  । जसमा मन्त्री कुँवरले परराष्ट्र मन्त्रालयसँग घटनाबारे बुझ्ने र जतिसक्दो छिटो शव ल्याउन पहल गरिने बताउनुभयो । 

कार्यक्रममा मन्त्री कुँवरलाई श्रमिकहरूले फोन गर्दै केही म्यानपावरहरूले भनेअनुसार विदेशमा आफूले काम नपाएको गुनासो पनि गरेका छन् ।

श्रमिकसँग मन्त्री कुँवरले विदेशमा रहेका श्रमिकहरूका समस्या र गुनासाहरूप्रति आफु गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको बताउनुभयो ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्ड लाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइवरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्री कुँवर काठमाडौँ रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरूमा कुरा गर्न सकिने समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button