तपाईँ सुन्दै हुनुहुन्छः

मेघौली विमानस्थलको काम छिट्टै हुन्छ: अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तरक्रियामा उहाँले ऐतिहासिक महत्त्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताउनुभयो ।

विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको शुभारम्भ गर्दै उहाँले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र मेघौली विमानस्थलको काम सँगै अघि बढेको भन्दै यसले महानगरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । पहिलो कार्यकाल थाल्दादेखि नै विमानस्थल बिस्तारको कामलाई प्राथमिकतामा राख्नुभएकी दाहालले यसले यहाँको विकासमा फड्को मार्न सहयोगी बन्ने बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मेघौली विमानस्थल गुणस्तरीय पर्यटक चार्टर गर्ने महत्त्वपूर्ण विमानस्थलका रुपमा विगतमा परिचित रहेको बताउनुभयो ।

कुनै बेला मेघौली विमानस्थलमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । विमानस्थलको धावनमार्गमा कालोपत्रे गरेर टर्मिनल व्यवस्थित गर्न लागिएको हो ।

विमानस्थलमा होटल टाइगर टप्स रहुन्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेल समेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मका क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button