तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारकर्मीले समाजलाई मार्ग निर्देशन दिनुपर्छ: नगर प्रमुख सिंह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत लेखेर समाजलाई मार्ग निर्देशन दिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल फोटो पत्रकार महासङ्घ, पर्साको तेस्रो जिल्ला अधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्दै नगर प्रमुख सिंहले पत्रकारको कलमले गलत सही जे हो त्यही लेख्न सक्नुपर्ने बताउनुभयो ।

हतियारमा भन्दा कलममा तागत धेरै हुने भएकाले पत्रकारले चलाउने कलम निष्पक्ष भएर चल्नुपर्ने बताउँदै अहिले फोटो पत्रकारितातर्फ युवाहरूको प्रवेश उल्लेख्य नरहेको हुँदा यसको विकासका लागि महानगरले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डा. दिपक शाक्यले वीरगञ्जमा विश्वविद्यालय स्थापना हुनु यहाँका लागि गर्वको कुरा भएको बताउनुभयो ।

फोटो पत्रकार महासङ्घ पर्साका अध्यक्ष विजय चौहानको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नीलिमा पौडेल, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैबिच आज सम्पन्न नेपाल फोटो पत्रकार महासङ्घ पर्साको तेस्रो जिल्ला अधिवेशनले सफल खतिवडाको अध्यक्षतामा जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।

नेपाल फोटो पत्रकार महासङ्घको उपाध्यक्षमा माधुरी महतो, सचिवमा श्रवण कुमार साह, कोषाध्यक्षमा शम्भु कुमार सुमन लगायत सदस्य निर्विरोध चयन हुनुभएको निवर्तमान जिल्ला अध्यक्ष विजय चौहानले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button