तपाईँ सुन्दै हुनुहुन्छः

नगरवासीको समस्या समाधान पहिलो प्राथमिकता : नगर प्रमुख सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंजवासीको दैनिकी सँग जोडिएको समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । 

नगर प्रमुख सिंहले स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकाको नेतृत्व सम्हालेको सय दिन पुरा भएको अवसरमा आज महानगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा आफूले सय दिनको यो अवधिलाई कार्यकालको बाँकी समयकै निरन्तरताको रुपमा लिएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा महानगरपालिकाको तर्फबाट वितरित प्रेस विज्ञप्तिमा महानगरपालिकाले सय दिनको अवधिमा समृद्ध वीरगंज निर्माण तथा वीरगंजवासीको समस्या समाधान गर्दै नगरवासीका जनजीविकासँग जोडिएका कामलाई प्राथमिकतामा राखेर अगाडी बढेको कुरा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा वीरगंज महानगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवाका लागि अनिवार्य शुल्क बाहेक विभिन्न बहानामा सेवाग्राहीसँग असुली गलत अभ्यासलाई पूर्ण रुपमा अन्त्य गरिएको, सेवाग्राहीलाई गलत नियत राखी अल्झाउने पद्धतिको अन्त्य गरी छिटो छरितो सेवा प्रवाह गरिएको, कर्मचारी र जनप्रतिनिधिलाई मात्रै नभई सेवाग्राहीको सहजताका लागि एसी सहितको डिजिटल टोकनको व्यवस्था गरिएको, कर्मचारीहरू समयमा उपस्थित भए नभएको अनुगमन गर्न ई–हाजिरीको व्यवस्था गरिएको, महानगरपालिकाका प्रत्येक शाखामा सिसी टिभी क्यामरा जडान गरी नगर प्रमुखले प्रत्यक्ष रुपमा निरीक्षण गर्ने व्यवस्था मिलाइएको, महानगरका ३२ वटै वडामा सचिव र सहायक सचिव खटाई सेवाग्राहीलाई छिटो छरितो सेवा दिने व्यवस्था मिलाइएको, महानगरपालिका प्रत्येक वडाको सेवालाई डिजिटल बनाइएको, कम्प्युटर अपरेटरको व्यवस्था गरी व्यवसाय कर, बहाल कर, एकिकृत सम्पत्ति कर वडाबाटै तिर्ने व्यवस्था मिलाइएको, सरसफाईको जिम्मा पनि वडामा नै विकेन्द्रित गरिएको, वीरगंजलाई मैत्री सहरको रुपमा विकास गर्न सवारी व्यवस्थापन कर खारेज गरिएको, फुटपाथमा अवैध रुपमा राखिएको निर्माण जन्य सामग्री हटाउने र छाडा चौपाया नियन्त्रण जरिवाना गर्ने व्यवस्था कडा रुपमा कार्यान्वयन गरिएको, नगर क्षेत्रका किसानलाई आवश्यक मलको व्यवस्था मिलाइएको, धार्मिक स्थलको सौन्दर्यीकरण कार्यक्रम अगाडी बढाइएको, नगरलाई हरियाली बनाउन बाइपास सडक खण्डमा वृक्षारोपण गरिएको लगायतका विभिन्न २३ बुँदे कार्यलाई महानगरपालिकाले अगाडी बढाएको कुरा उल्लेख गरिएको छ । 

पत्रकार सम्मेलनमा नगर प्रमुख राजेशमान सिंहले श्रावण महिनामा महानगरपालिकाले ५५ लाख कर असुली गरेको र वीरगंजका ठूला प्रतिष्ठित व्यापारी घरानाबाट मात्रै साढे ६ करोड भन्दा बढी घर बहाल कर असुली गर्न बाँकी रहेको हुँदा यसलाई तत्काल कडा कदम चालेर भए पनि असुल उपर गरिने बताउनु भयो । 

नगर प्रमुख सिंहले यस अघि निर्वाचित जनप्रतिनिधिले महानगरको ठूलो रकम हिनामिना गरेको हुँदा कारबाहीको दायरमा ल्याउन अख्तियारलाई समेत आग्रह गरिएको बताउनु भयो । पत्रकार सम्मेलन वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button