तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि छलफल भइरहेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेश गर्नुभएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि सन्देश सहित फिर्ता भएको नागरिकता विधेयक २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल भइरहेको हो । 

छलफलमा भाग लिने सत्ता पक्षका सांसदहरूले जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने प्रयोजनका लागि विधेयक आएको हुनाले यथाशक्य छिटो विधेयक अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

वैवाहिक अङ्गीकृत नागरिकता लगायतका विषयमा दलहरू विभाजित हुँदा लामो समय विधेयक अगाडि बढ्न नसकेको र लाखौँ नेपाली बाबुआमाका सन्तान राज्यविहीन हुने अवस्था आएको हुनाले त्यसलाई सम्बोधन गर्न सहमति नजिक रहेका विषयलाई मात्रै समेटेर भएपनि विधेयक अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

यस्तै प्रतिपक्षी दलका सांसदहरूले नागरिकताको विषयलाई सत्ता पक्षले हलुका रुपमा लिई चुनावी लाभ–हानीको विषय बनाउन खोज्दा राष्ट्रपतिको सन्देशमा समेटिएका सकारात्मक विषयलाई समेत विधेयकमा समेट्न नसकिएको बताउनुभयो ।

नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button