डेढ करोडभन्दा बढीको चकलेट र कपडा बोकेका दुई वटा ट्रक नियन्त्रणमा
बीरगंज । बिल बिजक तथा भन्सार प्रज्ञापन पत्रमा उल्लेखित परिणामभन्दा झण्डै डेढ करोडभन्दा बढीको चकलेट, भारतीय लत्ता कपडा तथा खुद्रा सामान बोकेका दुई वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय बिर्ता वीरगंजबाट खटिएको टोलीले आज दिउँसो १ः०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.६ लोहारपट्टी सडकखण्डबाट ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल बिजकभन्दा बढी विभिन्न किसिमका भारतीय लत्ताकपडाहरू समेत फेला परेपछि सो ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।
ट्रकसहित सामानको १ करोड २ लाख ४६ हजार ७ सय ६९ रुपैयाँ मूल्याङ्कन गरी थप कारबाहीका लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको गिरीले बताउनुभयो ।
त्यसैगरी पर्सा प्रहरीले भन्सार प्रज्ञापन पत्रमा उल्लेखित परिमाणभन्दा बढी चकलेट बोकेको बिपी १३ बिए ०२४७ नम्बरको भारतीय ट्रकलाई गएराति बीरगंजको परवानीपुरबाट नियन्त्रणमा लिएको छ ।
सो ट्रक र चकलेटसहित ५० लाख मूल्याङ्कन गरी आज थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता गिरीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्