थाइराइडको परीक्षण जुम्लामै हुने

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशाला स्तरवृद्धि गरिएको छ । बढ्दो नागरिकको जनगुनासोलाई मध्यनजर गर्दै कर्णाली प्रतिष्ठानको ल्याब सेवा जनशक्ति सहित स्तरवृद्धि गरिएको हो । विगतमा ल्याब नागरिकको अत्यधिक भिड लाग्ने गर्थ्यो ।
ल्याबको स्तरोन्नति सँगै अब जुम्लामै थाइराइडको परिक्षण हुने कर्णाली प्रतिष्ठानका निर्देशक डाक्टर पूजन रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“यस अघि थाइराइड परीक्षणका लागि नेपालगञ्ज काठमाडौँ जानुपर्ने बाध्यता थियो । जुम्लाबाट रगत पठाउँदा हप्ता दिन रिपोट कुर्नु पर्थ्यो । तर अब जुम्लामै थाइराइड परिक्षण हुने छ ।”
जुम्लाबाट नेपालगन्ज परीक्षणका लागि पठाउँदा १५ सय रुपैयाँ लाग्थ्यो । तर जुम्लामै १ हजार रुपैयाँमा थाइराइड परिक्षण हुने छ । योसँगै कालिकोट र मुगुका नागरिकले पनि अब राहत पाउने भएका छन् ।

कर्णालीका अधिकांश महिला थाइराइड समस्याबाट ग्रसित रहेका छन् । उनीहरूको राहतका लागि जुम्लामै बिहीबारदेखि थाइराइड परीक्षणको सेवा सुरु गरिएको हो । साथै स्त्रीरोग सम्बन्धी हर्मोनको जाँच पनि जुम्लामै हुने भएको छ ।
आवश्यक जनशक्ति सहित ल्याब सेवा स्तरवृद्धि भएकाले विगत जस्तो भिड लाग्नु नपर्ने र छिटो छरितो सेवा उपलब्ध गराइने छ । भने भिटामिन (डी) र भिटामिन (डी)–१२ समेत उपलब्ध गराइने छ ।
निर्देशक रोकायाले थप्नुभयो,“त्यस्तै बाँथरोगको उपचार हुने छ । हाल प्रतिष्ठानमा सामान्य ब्लक बैङ्क पनि सञ्चालनमा रहेको छ । भने आगामी दिनमा रेडक्रस तथा अन्य दातृ निकायसँग समन्वय गरी आधुनिक प्रविधि सहितको ब्लड बैङ्क स्थापना गर्न पहल गरिने छ ।” आकस्मिक सेवाका बिरामीलाई ल्याब परीक्षणका लागि समेत विशेष प्राथमिकता दिइने छ ।
प्रतिक्रिया राख्नुहोस्