तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने महिला चिकित्सकहरूलाई सम्मान

तस्बिर: सुनिल बज्राचार्य (राष्ट्रपति कार्यालय)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चिकित्सा तथा स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका महिला चिकित्सकहरूलाई सम्मान पत्रसहित सम्मानित गर्नुभएको छ ।

नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले ओमन इन मेडिसिन लाइफटाईम एचिभमेण्ट अवार्डबाट ५ जना र ओमन इन मेडिसिन अवार्डबाट १० जना महिला चिकित्सक गरी १५ जनालाई सम्मान पत्रसहित सम्मानित गर्नुभएको हो ।

तस्बिर: सुनिल बज्राचार्य (राष्ट्रपति कार्यालय)

ओमन इन मेडिसिन लाइफटाईम एचिभमेण्ट अवार्डबाट सम्मानित हुनुहुने पाँच जना महिला चिकित्सकमा डा. विमला ओझा, डा.नारायणी श्रेष्ठ, डा.रेवा श्रेष्ठ, डा.गीता बस्न्यात र डा.ओम शाह बिष्ट रहनुभएको छ ।

यस्तै, ओमन इन मेडिसिन अवार्डबाट सम्मानित हुनुहुने १० जना महिला चिकित्सकमा डा. आस्मा राणा, डा.बसुदा खनाल, डा.कमला बुढाथोकी, डा.लक्ष्मीनानी श्रेष्ठ, डा. मिरा मल्ल, डा.मिथिला शर्मा अधिकारी, डा.रोशना अमात्य, डा.स्वराज राजभण्डारी, डा.तिर्था राना र  डा.उषा शाह रहनुभएको छ ।

सम्मान कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले कोभिड–१९ होस् वा भूकम्प पछिको समय होस्, जस्तोसुकै जोखिमपूर्ण अवस्थामा पनि चिकित्सकहरूले खेल्दै आएको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह के.सी., सम्मानित चिकित्सकहरू मध्येबाट डा.स्वराज राजभण्डारी लगायतले नेपालको दुर्दराजमा रही सेवा पुर्‍याउनुभएका महिला चिकित्सकहरूको राष्ट्रपतिबाट पाएको सम्मानले भावी पुस्तालाई समेत उत्साहित बनाउने काम गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button