पाँचथरमा ५ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको निवेदन
पाँचथर । पाँचथरमा ५ हजार ८५ जना तथा अव्यवस्थित बसोबासीको निवेदन परेको छ ।

राष्ट्रिय भूमि आयोगले प्रथम पटक निकालेको ३५ दिने सूचनाको आधारमा जिल्लाका ८ मध्ये ७ स्थानीय तहमा ५ हजार ८५ जनाको निवेदन परेको हो । मिक्लाजुङ गाउँपालिकामा सबै भन्दा धेरै १ हजार ७ सय ७६ र कुम्मायक गाउँपालिकामा सबै भन्दा थोरै ३३ जनाको निवेदन परेको आयोगको जिल्ला समितिले जनाएको छ । याङवरकमा गाउँपालिकामा भने एउटा पनि निवेदन नपरेको बताइएको छ ।
समितिको तथ्याङ्क अनुसार भूमिहीन दलित ९० जना, भूमिहीन सुकुम्बासी १ सय २२ जना र अव्यवस्थित बसोबासी ४ हजार ८ सय ७३ जनाको निवेदन परेको समितिका सदस्य सचिव उमेश नेम्वाङले जानकारी दिनुभयो ।
निवेदन आए पश्चात् हिलिहाङ गाउँपालिकाले अस्थायी निस्सा वितरण गरेको छ भने फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले डाटा प्रविष्टिको काम गरिरहेका छन् । हालसम्म १ हजार १०० जनाको लगत प्रविष्टि भइसकेको सदस्य सचिव नेम्वाङको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्