जुम्लाकोट गाउँका १७२ घरमा ‘एक घर एक धारा’
जुम्ला । तिला गाउँपालिका ८ जुम्लाकोट गाउँमा खानेपानीको समस्या चुलिँदै गएको थियो । पानीको स्रोत सुक्दै जानुका साथै २०५९ सालमा बनेको एक मात्र धारा जीर्ण बनेपछि जुम्लाकोटमा खानेपानीको हाहाकार थियो । एक गाग्री भर्न पनि घण्टौँ लाइन कुर्नु पर्ने, कहिले रित्तै घर फर्किनु पर्ने र पानीकै लागि आपसमा विवादसम्म हुन्थ्यो । सरसफाइ त परै जावस जुम्लाकोट बासीलाई ढुक्कले पिउन तथा खाना पकाउने पानी समेत पुराउन कठिन थियो ।
सङ्घीयतापछि आधारभूत आवश्यकता खानेपानीको पहुँचमा नपुगेको जुम्लाकोट गाउँमा वर्षौँपछि शुद्ध खानेपानीको धारा घर घरमा पुगेको छ । १ सय ७२ घरधुरी रहेको जुम्लाकोट गाउँका सबै घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् ।
स्थानीयको समस्यालाई मध्यनजर गर्दै पेस नेपाल जुम्लाद्वारा सञ्चालित (क्याप्स) कर्णाली परियोजनामार्फत जुम्लाकोट गाउँमा एक घर एक धारा निर्माण गरिएको पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले बताउनुभयो ।
“पानीको चरम अभाव भोगेको जुम्लाकोट गाउँमा १ सय ७२ घरमा एक घर एक धारा निर्माणपछि स्थानीय खुसी छन् । घर घरमा मिटर सहितका धारा निर्माण भएका छन् । अहिले खानेपानी कै लागि गाग्री प्रदर्शन गर्नुपर्ने, घण्टौँ लाइन कुर्नुपर्ने अवस्था छैन ।”, उहाँले भन्नुभयो ।
यहाँ २० घन मिटरका २ वटा पानी टयांकी समेत निर्माण गरी ६९ लाख ९२ हजार रुपैयाँको लगानीमा एक घर एक धारा निर्माण गरिएको हो ।
अब जुम्लाकोट गाउँका नागरिकले चौबिसै घण्टा शुद्ध खानेपानी घरमै पाउने छन् ।
“नजिक पानीको स्रोत नै नभएकोले मुस्किलले पानी गाउँमा पुर्याइएको हो । करिब १९ सय मिटर माथिबाट खोलामा पानी झारेर १८ सय मिटर उकालो चढाएर जुम्लाकोट गाउँमा पानी पुर्याइ कठिन परिस्थितिमा नागरिकलाई पानी खुवाउन सफल भएका छौँ ।”, अध्यक्ष न्यौपानेले थप्नुभयो ।
आधारभूत आवश्यकता मानिने खानेपानीको अभाव वर्षौँदेखि झेल्दै आएको जुम्लाकोट बासीको तितो अनुभव छ । कतिपय दिन बिहानदेखि बेलुकासम्म धाराकै बाससम्म हुन्थ्यो ।
“गाउँमा जनसङ्ख्या बढ्दै गयो । पानीको स्रोत घट्दै गयो । भएको एउटा धारो पनि जीर्ण हुनुका साथै धारामा निकै सानो पानी आउँथ्यो । तर अहिले घरघरमा धारा निर्माण भएपछि राहत भएको ।”, जुम्लाकोटका स्थानीय धनलाल बस्नेतले भन्नुभयो ।
अहिले जुम्लाकोटका सबै १ सय ७२ वटै घरमा खानेपानीको धारा छन् । सबै धारामा चौबिसै घण्टा पानी आइरहन्छ । झन्डै दुई दशकसम्म भोगिरहेको खानेपानी समस्या बल्ल समाधान भएको छ ।
स्थानीय महिला सरस्वती बस्नेतले भन्नुभयो,“अब खानेपानीको लागि गर्नुपर्ने दुःखको अन्त्य भयो । समयको पनि बचत हुने । पिउन, सरसफाइ गर्नुका साथै करेसाबारीमा सिचाई समेत हुने भयो । सबै मिलेर पानीको मुहान र धारा संरक्षणमा जुट्ने बेला आएको छ ।”
एक घर एक धाराको अनुगमनका क्रममा खानेपानी घर घरमा पुगेपछि स्थानीयले निकै राहत महसुस गरेको तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।
उहाँले विकास साझेदार संस्था पेश नेपालले खानेपानी निर्माणका लागि गरेको योगदानको प्रशंसा समेत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्